Logo

१२ असार, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले देशको समसामयिक र गम्भीर जनसरोकारका विषयहरूमा सरकारको कडा ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा बोल्दै सांसदहरूले इन्धनको मूल्यवृद्धि, सुकुम्बासी व्यवस्थापन र भूकम्पपीडितको पुनर्स्थापनालगायतका विषयमा सरकारलाई प्रश्न गरेका हुन् । सांसद घनश्याम रिजालले इन्धनको लगातारको मूल्यवृद्धिले समग्र विकास निर्माणका कार्यहरू ठप्प प्रायः भएको भन्दै तत्काल मूल्य समायोजन गरी सहज आपूर्ति व्यवस्था मिलाउन जोडदार माग गरे। मूल्यवृद्धिको असरले सर्वसाधारणको दैनिकी झन् कष्टकर बन्दै गएकोमा उनले चिन्ता व्यक्त गरे ।

बैठकमा सुकुम्बासी समस्याको विषयले पनि प्राथमिकता पाएको थियो । सांसदहरू रेणु चन्द, विष्णुकुमारी सापकोटा, विष्णुबहादुर विश्वकर्मा, श्रीकृष्ण अधिकारी र सावित्री मल्लले सुकुम्बासीहरूलाई उनीहरूको बस्तीबाट हटाएर होल्डिङ सेन्टरमा राखिएको र उचित व्यवस्थापनविना नै अन्यत्र सार्ने सरकारी शैलीप्रति गम्भीर आपत्ति जनाए । उनीहरूले सुकुम्बासीलाई मानवोचित व्यवहार गर्दै संवैधानिक हकअनुसारको बसोबासको प्रबन्ध मिलाउन र मानवअधिकारको सम्मान गर्न सरकारलाई सचेत गराएका छन् ।

यसका साथै, भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा देखिएको सुस्तता पनि बैठकको अर्को प्रमुख मुद्दा बनेको थियो। सांसद कृष्णबहादुर रोकायाले २०८० कात्तिकको भूकम्पले तहसनहस बनाएको जाजरकोट र रुकुमपश्चिमका ग्रामीण बस्तीहरूमा हालसम्म सुरक्षित आवास निर्माण हुन नसकेको भन्दै तत्काल निर्माण प्रक्रियालाई गति दिन सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै, सांसद पदमबहादुर परियारले न्यून दृष्टियुक्त व्यक्तिहरूको पुनःस्थापना कार्यक्रम अघि बढाउन माग गरे भने सांसद विष्णुदेवी पुडासैनीले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा कर लगाउने कार्यले आम नागरिक प्रभावित हुने भन्दै त्यस्तो कदम नलिन सरकारलाई चेतावनी दिइन् । आजको बैठकमा उठेका यी विविध मुद्दाहरूले सरकारलाई जनअपेक्षाप्रति थप उत्तरदायी बन्न दबाब सिर्जना गरेको छ ।


सम्बन्धित समाचार