Logo

१३ असार, काठमाडौं । प्रा. डा. अञ्जय कुमार मिश्रको नेतृत्वमा गरिएको एक अन्तर्राष्ट्रिय अनुसन्धानले कृत्रिम बुद्धिमत्ता (AI) मा आधारित आपूर्ति शृङ्खला (Supply Chain) व्यवस्थापनले उद्योगको कार्यसम्पादन, उत्पादन क्षमता र सेवा गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने निष्कर्ष सार्वजनिक गरेको छ।

Journal of Advanced Research in Quality Control and Management मा प्रकाशित “Artificial Intelligence and Supply Chain Resilience: Implications for Organizational Performance” शीर्षकको अध्ययनमा सन् २०२० देखि २०२५ सम्मका उद्योगसम्बन्धी तथ्याङ्क र व्यावहारिक परीक्षणहरूको विश्लेषण गरिएको छ। अध्ययनमा भारतका एम. वासुकी, ए. दिनेश कुमार तथा अमेरिकाका एम्बोनिगाबा सेलेस्टिन सहलेखक रहेका छन्।

अनुसन्धानअनुसार AI-आधारित Predictive Analytics प्रयोगपछि माग पूर्वानुमानको शुद्धता ६१ प्रतिशतबाट ८९ प्रतिशत पुगेको छ भने जोखिम पहिचान गर्ने क्षमता ४८ प्रतिशतबाट ८६ प्रतिशतसम्म वृद्धि भएको देखिएको छ।

यस्तै, AI-driven Inventory Optimization लागू भएपछि गोदाम व्यवस्थापनमा उल्लेखनीय सुधार देखिएको छ। स्टक शुद्धता ५८ प्रतिशतबाट ८८ प्रतिशत पुगेको, स्टक अभाव (Stock-out) का घटना घटेको तथा गोदाम स्वचालनको स्तर ३५ प्रतिशतबाट ७४ प्रतिशतसम्म पुगेको अध्ययनले जनाएको छ।

रसद व्यवस्थापनतर्फ Intelligent Logistics Automation को प्रयोगपछि समयमै डेलिभरी हुने दर ६१ प्रतिशतबाट ९१ प्रतिशत पुगेको, सामान ढुवानीमा हुने त्रुटि ३२ प्रतिशतबाट ८२ प्रतिशतसम्म घटेको तथा यातायात लागतमा औसत ८ देखि ३९ प्रतिशतसम्म बचत भएको उल्लेख गरिएको छ।

डिजिटल पूर्वाधारतर्फ क्लाउड एकीकरण ४० प्रतिशतबाट ८४ प्रतिशत र ERP कनेक्टिभिटी ४५ प्रतिशतबाट ८७ प्रतिशत पुगेको अध्ययनले देखाएको छ। साथै, AI सम्बन्धी दक्ष जनशक्ति र साइबर सुरक्षा मापदण्डमा पनि सकारात्मक सुधार भएको जनाइएको छ।

संगठनात्मक कार्यसम्पादनमा समेत उल्लेखनीय प्रभाव परेको अनुसन्धानले जनाएको छ। राजस्व वृद्धिदर ५ प्रतिशतबाट २४ प्रतिशत पुगेको, ग्राहक सन्तुष्टि ६२ बाट ९३ अंकसम्म उक्लिएको तथा सञ्चालन प्रभावकारिता (Operational Efficiency) ०.५१ बाट ०.९० सम्म पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

अनुसन्धानले AI प्रविधिको प्रयोग उत्पादन उद्योग, खुद्रा व्यापार, ई–कमर्स, रसद सेवा तथा वित्तीय संस्थाहरूका लागि अत्यन्त उपयोगी हुने निष्कर्ष निकालेको छ। मागको पूर्वानुमान, उत्पादन तालिका व्यवस्थापन, रोबोटिक गोदाम, स्मार्ट डेलिभरी तथा आपूर्ति शृङ्खला वित्त व्यवस्थापनमा AI ले लागत घटाउने, उत्पादकत्व बढाउने र ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने उल्लेख गरिएको छ।

अध्ययनले सरकारलाई राष्ट्रिय औद्योगिक नीतिमा क्लाउड पूर्वाधार, साइबर सुरक्षा तथा डिजिटल रूपान्तरणलाई प्राथमिकता दिन सुझाव दिएको छ। विश्वविद्यालयहरूले पनि MBA, MSc र इन्जिनियरिङका पाठ्यक्रममा AI-आधारित सप्लाई चेन व्यवस्थापनसम्बन्धी विषय समावेश गर्नुपर्ने सिफारिस गरिएको छ।

अनुसन्धानका प्रमुख लेखक प्रा.डा. अञ्जय कुमार मिश्रले AI केवल प्रविधि नभई उद्योगलाई थप प्रतिस्पर्धी, लचिलो र दिगो बनाउने महत्वपूर्ण माध्यम भएको बताएका छन्। अध्ययनले डेटा-आधारित AI समाधान र सुदृढ डिजिटल पूर्वाधारको संयोजनबाट उद्योगहरूको समग्र कार्यसम्पादनमा दीर्घकालीन सुधार सम्भव हुने निष्कर्ष प्रस्तुत गरेको छ।


सम्बन्धित समाचार
भर्खरै