Logo

१३ असार,काठमाडौं ।  मनसुन सक्रिय भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्गअन्तर्गत पर्ने नागढुंगा–मुग्लिन सडक खण्डमा सम्भावित बाढी र पहिरो जोखिम न्यूनीकरण गर्न सडक विभागले विशेष पूर्वतयारी कार्ययोजना लागू गरेको छ।

‘२०८३ मनसुन पूर्व तयारी कार्ययोजना’ अन्तर्गत सडक अवरुद्ध भएमा तत्काल खुलाउने, यात्रुलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने तथा वैकल्पिक मार्ग प्रयोग गराउने रणनीति अपनाइएको सडक विभागले जनाएको छ।

हाल नागढुंगा–नौबिसे (१२.२ किमी) र नौबिसे–मलेखु (४३.५ किमी) खण्डको स्तरोन्नति कार्य करिब ६४ प्रतिशत सम्पन्न भएको छ। सडक विस्तारका क्रममा भित्ता काटिएको तथा भौगोलिक संरचना कमजोर भएकाले यस वर्ष मनसुनमा जोखिम उच्च हुनसक्ने भन्दै आवश्यक उपकरण र जनशक्तिसहित टोली तयारी अवस्थामा राखिएको विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ।

आयोजना कार्यालयको भौगर्भिक अध्ययनअनुसार यस सडक खण्डका नौ स्थानलाई अति उच्च पहिरो जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ। नागढुंगा–नौबिसे खण्डअन्तर्गत झ्याप्ले खोला, खत्रीपौवा र सिक्रे खोला रहेका छन् भने नौबिसे–मलेखु खण्डमा ४ किलो, ७ किलो, ९ किलो, १३ किलो (कोइरालेभिर), मछेडी खोला र घाटबेशी क्षेत्र जोखिममा छन्।

जोखिम न्यूनीकरणका लागि स्लोप म्यानेजमेन्ट, रक एन्करिङ, माइक्रो पाइलिङ, वाल निर्माण तथा बायो–इन्जिनियरिङ प्रविधि प्रयोग गरिएको विभागले जनाएको छ।

विपद्को समयमा सडक छिटो खुलाउन नौबिसे, महादेवबेशी, चिरौदी र घाटबेशीलगायत स्थानमा एक्स्काभेटर, लोडर र टिपरसहितको प्राविधिक टोली चौबिसै घण्टा तैनाथ गरिएको छ। सडक अवरुद्ध हुँदा यात्रुलाई रियल–टाइम जानकारी उपलब्ध गराउन ट्राफिक प्रहरी र स्थानीय प्रशासनसँग समन्वय गरिनेछ।

मुख्य मार्ग अवरुद्ध भए यात्रुका लागि वैकल्पिक रुट पनि तय गरिएको छ। नागढुंगा–नौबिसे खण्ड बन्द भएमा सीतापाइला–रामकोट–धार्के–गल्छी तथा टोखा–त्रिशूली–गल्छी मार्ग प्रयोग गर्न सकिनेछ। त्यस्तै, दक्षिणकाली–छैमले–सिस्नेरी–फाखेल हुँदै कुलेखानी–हेटौँडा र धुलिखेल हुँदै बिपी राजमार्ग पनि वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने विभागले जनाएको छ।

गल्छी–मलेखु खण्ड अवरुद्ध भए त्रिशूली नदी आसपासका स्थानीय कच्ची सडक, झोलुङ्गे तथा पक्की पुलहरूको प्रयोग गरी आवतजावत मिलाइनेछ।

सडक विभागले कुनै पनि असहज अवस्था आउनुअघि नै आधिकारिक निकायबाट पूर्वसूचना जारी गरिने भएकाले यात्रु तथा चालकलाई सोहीअनुसार यात्रा योजना बनाउन आग्रह गरेको छ।


सम्बन्धित समाचार
भर्खरै