Logo

१४ असार ,काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई आफ्नो पदीय गरिमा, काम र व्यवहारप्रति थप गम्भीर हुन आग्रह गरेका छन् ।

सङ्घीय संसद् सचिवालयद्वारा प्रतिनिधिसभाका सदस्यहरूका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले जनता र मतदाताले आफ्ना जनप्रतिनिधिका हरेक गतिविधिलाई विभिन्न माध्यमबाट नजिकबाट नियालिरहेको स्मरण गराए । उनले जनताबाट निर्वाचित भएसँगै सांसदहरूको जीवन निजी नरही सार्वजनिक हुने भएकाले सोही अनुरूपको जिम्मेवारी बोध गर्नुपर्नेमा विशेष जोड दिए ।

कानुन निर्माणको प्रक्रियालाई थप सुदृढ बनाउन सांसदहरूले विगतका सकारात्मक अभ्यासहरूबाट सिक्नुपर्ने सभामुखको भनाइ थियो । वर्तमान संसद्‌मा नयाँ अनुहारहरूको बाहुल्यता रहेको उल्लेख गर्दै उनले संसदीय विधि, कानुन निर्माण र प्रक्रियालाई अझ प्रभावकारी रूपमा बुझ्नका लागि अध्ययनशील र प्रविधिमैत्री बन्न सुझाव दिए ।

सिंहदरबारस्थित संसद् भवन परिसरमा सुरु भएको यो प्रशिक्षणले सांसदहरूलाई संसदीय प्रक्रियामा अब्बल बनाउन र उनीहरूको कार्यसम्पादन सुधार्न ठुलो भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रमको सुरुवातमै स्वागत मन्तव्य राख्दै संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले अभिमुखीकरणको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

सांसदहरूलाई संसदीय प्रणाली, अभ्यास र विधिबारे थप प्रशिक्षित गराई संसद्को कामकारबाहीलाई व्यवस्थित बनाउने उद्देश्यले सचिवालयले आज र भोलि दुई दिनसम्म चल्ने गरी यो प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।


सम्बन्धित समाचार