१६ असार, काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीले आत्तिएर अत्यधिक बल प्रयोग गर्दै धेरै गोली चलाएको अध्ययन समितिले निष्कर्ष निकालेको छ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गरेको सिफारिसमाथि थप अध्ययन गर्न गठित समितिले भदौ २३ गते बानेश्वर क्षेत्रमा भएको घटनालाई लिएर यस्तो प्रतिवेदन तयार पारेको हो। समितिका एक सदस्यका अनुसार, संसद् भवनभित्र प्रवेश गर्न खोजेका जेनजी प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्ने प्रयास गरिए पनि अचानक आन्दोलनकारीको सङ्ख्या अत्यधिक बढेपछि परिस्थिति सुरक्षाकर्मीको नियन्त्रण बाहिर गएको पाइएको छ।
प्रदर्शनको क्रममा प्रहरीले सिलसिलेवार रूपमा बल प्रयोगको नियम पालना गर्न खोजेको भए तापनि प्रदर्शनकारीको संख्या ह्वात्तै बढेपछि मैदानमा खटिएका सुरक्षाकर्मीहरू आत्तिएको समितिको ठहर छ।
संसद् भवन जस्तो महत्त्वपूर्ण प्रतिष्ठान जोगाउन सुरक्षाकर्मीले कानुन अनुसार स्वतः गोली चलाउन पाउने अधिकार भए तापनि, सो क्रममा धेरै प्रदर्शनकारीको मृत्यु भएको घटनालाई समितिले सुरक्षा व्यवस्थापनको ठुलो कमजोरी (ल्याकिङ) का रूपमा औंल्याएको छ।
अध्ययन समितिको निष्कर्ष अनुसार बानेश्वर क्षेत्रमा आन्दोलनकारीका तर्फबाट एम्बुलेन्स र गाडीहरूमा आगजनी गरिएपछि मात्र सुरक्षाकर्मीले गोली चलाएका थिए।
उच्छृङ्खल र हिंसात्मक क्रियाकलाप सुरु भएपछि बानेश्वरमा तैनाथ सुरक्षाकर्मीले कम्तीमा ७ मिनेटसम्म परिस्थितिलाई धैर्यतापूर्वक नियन्त्रणमा राख्ने प्रयास गरेको प्रतिवेदनमा उल्लेख छ।
मन्त्रिपरिषद्ले यसअघि सुरक्षा निकायका प्रमुख र कमान्डरहरूलाई कारबाही गर्न गरिएको सिफारिसमाथि विस्तृत अध्ययन गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको नेतृत्वमा यो समिति गठन गरेको थियो। गत वैशाख २ मा गठित यस समितिमा सशस्त्र प्रहरी बलका पूर्व एआईजी सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व एआईजी टेकप्रसाद राई सदस्य रहेका छन्।

















