Logo

१६ असार, चितवन । एउटा घर, जहाँ धेरै बालबालिकाले आफ्ना अभिभावक गुमाएका छन्। तर उनीहरूका सपनाहरू भने अझै जीवित छन्। त्यही सपनालाई सही दिशा दिन भरतपुर महानगरपालिका–५ गुम्बाटोलस्थित सानो घर बालगृहमा पछिल्ला केही दिनदेखि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन भइरहेको छ। कार्यक्रमको दशौँ दिन बालबालिकाले सुनेका शब्द केवल प्रशिक्षणका विषय मात्र थिएनन्, ती उनीहरूको भविष्यलाई डोर्‍याउने प्रेरणाका सन्देश पनि थिए।

चितवनका अग्रज पत्रकार तथा शिक्षक नारायण सापकोटाले बालगृहमा पुगेर बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै सफल जीवनको सबैभन्दा ठूलो आधार अनुशासन, सकारात्मक सोच र असल चरित्र भएको बताउनुभयो। उहाँले जीवनमा ठूलो उपलब्धि हासिल गर्न पहिले आफैँलाई सही बाटोमा अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थी जीवनलाई अनुशासित, सिर्जनशील र लक्ष्यमुखी बनाउन आग्रह गर्नुभयो।

ूशिक्षा भनेको केवल राम्रो अंक ल्याउने माध्यम होइन, यो असल मानिस बन्ने यात्रा हो, उहाँले भन्नुभयो। उहाँका अनुसार समयको सदुपयोग, निरन्तर सिक्ने बानी र आत्मविश्वासले कुनै पनि कठिन परिस्थितिलाई अवसरमा बदल्न सक्छ।

प्रशिक्षणका क्रममा उहाँले बालबालिकालाई असल साथी रोज्न, गलत संगतबाट टाढा रहन र गुरु तथा अभिभावकको मार्गदर्शनलाई जीवनको दिशानिर्देशकका रूपमा स्वीकार गर्न सुझाव दिनुभयो। कहिलेकाहीँ साथीहरूको प्रभावले गलत निर्णय हुन सक्ने भए पनि शिक्षक र अभिभावकले सधैँ सही बाटो देखाउने भएकाले उनीहरूको अनुभव र सल्लाहलाई सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रम केवल औपचारिक प्रशिक्षणमा सीमित रहेन। बालबालिकाले आफ्ना जिज्ञासा राखे, अनुभव साटासाट गरे र प्रेरणादायी संवादमा सहभागी भए। उनीहरूको उत्साहले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।

प्रशिक्षणपछि बालगृहमा आश्रित नविना देवकोटाले प्रशिक्षकप्रति आभार व्यक्त गर्दै उहाँले आफ्नै सन्तानसरह माया र आत्मीयताका साथ सिकाएको बताउनुभयो। आज हामीले किताबमा नपाइने जीवनका महत्त्वपूर्ण पाठ सिक्यौँ। यहाँ आएर हामीलाई प्रेरणा दिनुभएकोमा हृदयदेखि धन्यवाद दिन चाहन्छौँ, उहाँले भन्नुभयो।

त्यस अवसरमा सापकोटाले सानो घर बालगृहले असहाय तथा अभिभावकविहीन बालबालिकाको संरक्षण, शिक्षा र व्यक्तित्व विकासमा गरिरहेको सेवाको प्रशंसा गर्नुभयो। यस्ता संस्थाहरूले समाजमा मानवीय संवेदनालाई जीवित राखेको उल्लेख गर्दै आगामी दिनमा पनि आफूले जानेका ज्ञान, सीप र अनुभव नियमित रूपमा बाँड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रममार्फत संस्थासँग सहकार्यलाई निरन्तरता दिने उहाँको भनाइ थियो।

यही असार ७ गतेदेखि २१ गतेसम्म सञ्चालन भइरहेको क्षमता अभिवृद्धि कार्यक्रम बालबालिकाको व्यक्तित्व विकास, नैतिक शिक्षा, नेतृत्व क्षमता, आत्मविश्वास र सकारात्मक जीवनशैली निर्माणमा केन्द्रित छ। विभिन्न क्षेत्रका अनुभवी व्यक्तित्वहरूलाई प्रशिक्षकका रूपमा सहभागी गराइएको यस कार्यक्रमले बालगृहमा आश्रित बालबालिकालाई जीवनप्रति आशावादी, जिम्मेवार र आत्मनिर्भर नागरिकका रूपमा तयार पार्ने अपेक्षा गरिएको छ।

सानो घरमा हरेक दिन भइरहेका यस्ता प्रेरणामूलक भेटघाट र सिकाइका सत्रहरूले एउटा सन्देश स्पष्ट रूपमा दिइरहेका छन्—परिस्थिति जस्तोसुकै भए पनि सही शिक्षा, अनुशासन र प्रेरणाले भविष्य अवश्य बदल्न सक्छ।


सम्बन्धित समाचार