१९ असार, काठमाडौं । सेयर बजारमा शुक्रबार सामान्य गिरावट देखिएको छ ।
अघिल्लो दिन ८ दशमलव ७८ अंकले बढेको नेप्से परिसूचक आज ८.३० अंकले घटेर २६५३ को विन्दुमा कायम भएको छ । बजार परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकममा भने वृद्धि देखिएको छ ।
अघिल्लो दिन ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो बढेर ४ अर्ब ४१ करोड पुगेको छ । आजको बजारमा मिश्रित नतिजा देखिएको छ, जसमा १०३ कम्पनीको मूल्य बढ्दा १६० कम्पनीको मूल्य घटेको छ भने १४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
आजको कारोबारमा बैंकिङ समूहको आकर्षण घटे पनि फाइनान्स उपसमूहमा लगानीकर्ताको विशेष रुचि देखिएको छ । समग्र बजार ०.३१ प्रतिशतले घटेको अवस्थामा पनि फाइनान्स समूह १ दशमलव ०६ प्रतिशतले उकालो लागेको छ ।
त्यस्तै, जलविद्युत्, माइक्रोफाइनान्स र व्यापार समूहमा पनि सामान्य वृद्धि देखिएको छ । आज सानीगढ हाइड्रोपावर, कालंगा हाइड्रोपावर, स्नो रिभर फल्स र नेपाल फाइनान्स गरी चारवटा कम्पनीको मूल्यमा उच्च वृद्धि ९१५ प्रतिशत० देखिएको छ । यता, अपर लोहोरेखोला हाइड्रोपावर र धौलागिरि लघुवित्त लगायतका कम्पनीको मूल्यमा भने गिरावट आएको छ ।



















