१९ असार,वीरगञ्ज । विद्यार्थीहरूको बौद्धिक, शारीरिक तथा शैक्षिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विद्या सदन माध्यमिक विद्यालयमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएका छन्। कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको विद्यालयले जनाएको छ।
कार्यक्रमअन्तर्गत आयोजित चेस प्रतियोगिताको समूह ‘ए’ (कक्षा ५, ६ र ७) मा कक्षा ७ ‘आर’का मोहम्मद शाइल अन्सारी प्रथम, कक्षा ७ ‘जि’का अरशद अन्सारी द्वितीय तथा कक्षा ६ ‘आर’का शेख सर्फराज आलम तृतीय भए।
त्यसैगरी, समूह ‘बी’ (कक्षा ८, ९ र १०) मा कक्षा १० का आर्यन शाह प्रथम, कक्षा ८ ‘वाई’का अशफाक हुसेन अन्सारी द्वितीय तथा कक्षा ९ ‘बी’का सामीद परवेज तृतीय स्थान हासिल गर्न सफल भए। चेस प्रतियोगिताको संयोजन शिक्षकद्वय ईर्शाद अन्सारी र विक्रान्त ठाकुरले गरेका थिए।
यसैगरी, “स्पिड स्टार च्याम्प” कार्यक्रमअन्तर्गत नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीबीच विभिन्न गतिविधि सञ्चालन गरिएको थियो। नर्सरीतर्फ सुहानी चौधरी, एल.के.जी.तर्फ अयुब अन्सारी तथा यू.के.जी.तर्फ मनिष मण्डल ‘स्पिड स्टार’ घोषित भए। कक्षा १ को नेपाली वाचन प्रतियोगितामा हर्षिका ठाकुर ‘स्पिड स्टार’ बन्न सफल भइन्। उक्त कार्यक्रमको संयोजन शिक्षिकाद्वय लक्ष्मी श्रेष्ठ र निर्मला ढुंगेलले गरेका थिए।
कार्यक्रमको समापनमा विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरी सम्मान गरिएको थियो। विद्यालय प्रशासनले विजेता विद्यार्थीहरूलाई बधाई दिँदै सहभागी सबै विद्यार्थीको उत्साह र सक्रियताको प्रशंसा गरेको छ।
विद्यालयले आगामी भदौ १८ गते पुनः विशेष सह–पाठ्यक्रम गतिविधि सञ्चालन गर्ने जनाएको छ। सो अवसरमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि राखी बनाउने प्रतियोगिता तथा कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि मेहन्दी प्रतियोगिता र खुला हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिने विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार यस्ता शैक्षिक, सिर्जनात्मक तथा सह–पाठ्यक्रम गतिविधिमार्फत विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि तथा सर्वाङ्गीण व्यक्तित्व विकासलाई निरन्तर प्राथमिकता दिइँदै आएको छ।



















