Logo

२१ असार, काठमाडौँ । रुस र युक्रेनबिच जारी युद्धले नयाँ मोड लिएको छ । युक्रेनले रुसको उत्तर-पश्चिम क्षेत्रमा अवस्थित दोस्रो ठुलो सहर सेन्ट पिटर्सबर्गको एक प्रमुख तेल टर्मिनलमा ड्रोन आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राति आफ्नो सेनाले रुसी भूभागभित्र पसेर उक्त रणनैतिक आक्रमण गरेको पुष्टि गरेका हुन् ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार सो तेल टर्मिनल रुसले युद्धका लागि आर्थिक स्रोत र राजस्व संकलन गर्ने एक महत्त्वपूर्ण पूर्वाधार थियो । तेल टर्मिनलका साथै सोही क्षेत्रमा रहेको रुसको एक प्रमुख नौसेना अड्डा (नेभी बेस) लाई समेत निशाना बनाइएको युक्रेनको दाबी छ ।

सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्ज्यान्डर बेग्लोभले शहरमा ड्रोन आक्रमण भएको स्वीकार गरेका छन् । उनले तेल टर्मिनलमा क्षति पुगेको बताए पनि आक्रमणबाट कोही हताहत भने नभएको दाबी गरे । पछिल्लो समय युक्रेनले रुसको अर्थतन्त्रको मेरुदण्ड मानिने ऊर्जा र इन्धन पूर्वाधारहरूलाई लक्षित गरी लामो दुरीको ड्रोन आक्रमणलाई तीव्र बनाएको छ ।

युक्रेनी सैन्य स्रोतले दाबी गरे अनुसार यी शृङ्खलाबद्ध आक्रमणका कारण रुसको कुल तेल प्रशोधन क्षमताको लगभग ४३ प्रतिशत हिस्सा नष्ट भइसकेको छ । जसका कारण रुसभित्र इन्धनको अभाव देखिन थालेको छ ।

युक्रेनी आक्रमणका कारण देशमा इन्धन संकट गहिरिँदै गएको कुरा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समेत स्वीकार गरेका छन् । गत हप्ता मस्कोमा आयोजित एक उच्चस्तरीय बैठकमा राष्ट्रपति पुटिनले युक्रेनी हमलाका कारण आन्तरिक बजारमा इन्धन आपूर्तिमा समस्या आएको बताएका थिए ।

यसैबिच, देशभित्र बढ्दो इन्धन संकट र नागरिकको असन्तुष्टिलाई सम्बोधन गर्न राष्ट्रपति पुटिनले शनिबार घरेलु इन्धन बजारमा आपूर्ति बढाउने र आपत्कालीन व्यवस्थापन गर्नेसम्बन्धी एक विशेष विधेयक अनुमोदन गरेका छन् ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण रूपमा सैनिक चढाई गरेयता सुरु भएको यो युद्ध अहिले चौथो वर्षमा प्रवेश गर्न लाग्दा दुवै देशको अर्थतन्त्र र सैन्य रणनीतिमा गम्भीर असर पुगिरहेको छ ।


सम्बन्धित समाचार