२३ असार, काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले देशका विभिन्न भागमा देखिएका विद्युत आपूर्तिमा अवरोध, अव्यवस्थित सडक विस्तार र खानेपानीको अभावलाई लिएर आफ्नै नेतृत्वको सरकारको आलोचना गरेका छन् ।
प्रतिनिधि सभा बैठकको आकस्मिक तथा विशेष समयमा बोल्दै सत्तारुढ दलकै सांसदहरूले नागरिकका आधारभूत समस्या समाधानमा सरकार उदासिन र संवेदनशील नरहेको आरोप लगाएका हुन् ।
बैठकमा बोल्दै रास्वपा सांसद प्रकाश पाठकले झापाको विर्तामोडस्थित अनारमनी ग्रिडमा आएको प्राविधिक खराबीका कारण जिल्लाका आधा दर्जन स्थानीय तहमा विद्युत सेवा ठप्प भएको जानकारी गराए । गत राति ट्रान्सफर्मरमा आगलागी हुँदा विर्तामोड, हल्दीबारी, भद्रपुर र कन्काई लगायतका क्षेत्रका नागरिकहरू लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएको उनले बताए ।
“४० डिग्रीको प्रचण्ड गर्मीमा नागरिकहरू विद्युतविहीन छन्,” सांसद पाठकले आक्रोश पोखे, “प्राधिकरणले मर्मत गरे पनि दैनिकजसो अवरुद्ध हुने सेवा, लो–भोल्टेज र ओभरलोडको समस्याले जनजीवन कष्टकर बनेको छ।” उनले विद्युत आपूर्ति प्रणालीको व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरण गम्भीर नभएको भन्दै तत्काल समस्या समाधानका लागि उर्जा मन्त्रालयको ध्यानाकर्षण गराए ।
अर्का सांसद नरेन्द्रकुमार गुप्ताले वीरगञ्ज महानगरपालिकामा भइरहेको २५/२५ मिटर सडक विस्तारका क्रममा मानवीय संवेदनशीलतालाई पूर्ण रूपमा वेवास्ता गरिएको भन्दै सरकारको आलोचना गरे । बजार क्षेत्रमा सडक फराकिलो गर्ने नाममा सयौँ वर्ष पुराना र कानुनी संरचनाहरूमाथि डोजर चलाइएको उनले दाबी गरे ।
सांसद गुप्ताले भने, “सडक विस्तारका कारण कैयौँ रैथाने नागरिक घरवारविहीन हुने अवस्थामा पुगेका छन् । आफ्नो सम्पत्तिमाथि डोजर चलेको हेर्न नसकी धेरै घरधनीहरू मानसिक तनावका कारण अस्पताल भर्ना हुनुपर्ने स्थिति सिर्जना भएको छ।” महानगरले साढे १२ मिटर विस्तार गर्ने भनिए पनि अचानक २५ मिटरको परिधिमा संरचना भत्काइनु न्यायसंगत नभएको उल्लेख गर्दै उनले जनतालाई उठिबास हुनबाट जोगाउन गृह र भौतिक पूर्वाधार मन्त्रालयसँग माग गरे ।
त्यस्तै, सांसद यज्ञमणि न्यौपानेले मोरङ क्षेत्र नम्बर १ का उर्लाबारी, मिक्लाजुङ र लेटाङ क्षेत्रमा विद्युत र खानेपानीको अभाव रहेको भन्दै सरकारको विभेदकारी नीतिको विरोध गरे । राजधानी काठमाडौँमा मेलम्चीको पानी ल्याउन अर्बौँ खर्चिँदा ग्रामीण क्षेत्रका नागरिकले आधारभूत खानेपानी समेत नपाएको भन्दै उनले गुनासो गरे ।
सरकारमाथि तीखो व्यङ्ग्य गर्दै सांसद न्यौपानेले भने, “सिंहदरबारमा झुक्किएर बत्ती जान्छ, तर मोरङमा झुक्किएर मात्र बत्ती आउँछ । गाउँको स्रोत शहरतिर लगियो, तर गाउँका बासिन्दा पानी र बिजुलीबाट सधैँ वञ्चित छन् । यस्ता जनसरोकारका गम्भीर विषय बजेटमा समेत नअटाउनु दुःखद् छ।”
संसदमा विशेष समय लिएर बोल्ने रास्वपाका सांसदहरूले जनसरोकारका यी विषयमा सम्बन्धित मन्त्रालयहरूले तत्काल ठोस कदम चाल्नुपर्ने र नागरिकको राज्यप्रतिको विश्वास धर्मराउन दिनु नहुनेमा जोड दिएका छन् । सत्तारुढ दलकै सांसदहरूबाट सरकारको कार्यशैलीमाथि प्रश्न उठेपछि संसद्मा प्रतिपक्षले समेत यसलाई सरकारको असफलताको रूपमा टिप्पणी गरेको छ ।



















