२३ असार, काठमाडौं । पासपोर्ट छपाइ प्रक्रियामा भएको भनिएको अनियमितता र भ्रष्टाचारको विषयलाई लिएर संसदीय समितिमा गम्भीर प्रश्न उठेको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू विक्रम थापा र खगेन्द्र सुनारले राहदानी छपाइमा राज्यलाई अर्बौँ रुपैयाँको क्षति पुग्ने गरी भएको आर्थिक चलखेलको छानबिन गर्न माग गरेका छन् ।
करिब १० अर्ब १३ करोड रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबीसहित सांसदहरूले राहदानी विभागसँग सम्बन्धित सम्पूर्ण कागजातहरू तत्काल समितिमा झिकाउन र विशेष लेखापरीक्षण गराउन जोडदार आवाज उठाएका छन् ।
यस विषयमा बोल्दै कांग्रेस सांसद जनकराज जोशीले राहदानी प्रकरण केवल आर्थिक अनियमितता मात्र नभई राष्ट्रिय सुरक्षा र सार्वभौमिकतासँग समेत जोडिएको संवेदनशील विषय भएको बताएका छन् । उनले नागरिकले राहदानी पाउन भोगिरहेको सास्ती र छपाइ प्रक्रियामा देखिएको विवादको गहिराइमा पुग्न स्वतन्त्र प्राविधिक समीक्षा आवश्यक रहेको औँल्याए ।
सांसदहरूले सार्वजनिक लेखा समितिले परम्परागत शैलीमा भन्दा पनि प्रणालीभित्रै पसेर सूक्ष्म अनुसन्धान गर्नुपर्ने र संलग्न दोषीहरूमाथि कारबाहीका लागि सरकारलाई कडाइका साथ निर्देशन दिनुपर्नेमा एकमत जनाएका छन् ।



















