२३ असार, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक विकास, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै आगामी तीन वर्षभित्र साढे ३ खर्ब रुपैयाँ बराबरको वित्तीय सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।
नेपाल भ्रमणमा रहनुभएका एडीबीका अध्यक्ष मासातो कान्दाले प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्तापछि सन् २०२९ सम्ममा २.४ अर्ब अमेरिकी डलर (करिब साढे ३ खर्ब नेपाली रुपैयाँ) सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । अध्यक्ष कान्दाले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गर्दै नेपालको विकास प्रक्रिया र आर्थिक सुधारका एजेन्डामा बैंकले पूर्ण साथ र सहकार्य गर्ने स्पष्ट पार्नुभएको छ ।
प्रधानमन्त्री शाहसँगको भेटका क्रममा कान्दाले नेपालमा प्राप्त राजनीतिक स्थायित्व र बलियो जनादेशको प्रशंसा गर्दै नेपाल सरकारसँग नजिक रहेर काम गर्न बैंक इच्छुक रहेको बताउनुभयो। नेपाली जनताका लागि ठोस, दिगो र परिणाममुखी विकास उपलब्धि हासिल गर्ने लक्ष्यमा एडीबी प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
आइतबार राति काठमाडौँ आइपुग्नुभएका अध्यक्ष कान्दाले आफ्नो नेपाल बसाइका क्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग समेत उच्चस्तरीय भेटवार्ता गरिसक्नुभएको छ । अध्यक्षको यो प्रतिबद्धताले नेपालको पूर्वाधार विकास र आर्थिक पुनरुत्थानमा महत्त्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ ।



















