२३ असार, काठमाडौं । बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई पुनर्जीवित गर्ने सरकारी योजनाले गति लिएको छ ।
उद्योग मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले उद्योगको मर्मतसम्भारका लागि ३३ लाख रुपैयाँ निकासा गरेसँगै उद्योग सञ्चालनको प्रक्रिया अगाडि बढेको हो । मंगलबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रकम निकासा भइसकेको र मर्मतको कामसमेत सुरु भइसकेको जानकारी दिनुभएको छ ।
दशकौँदेखि बन्द रहेको यस उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारले विशेष प्राथमिकता दिएको छ । मन्त्री चौधरीले मर्मतको कार्यले तीव्रता पाएसँगै अबको केही महिनाभित्रै उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउने विश्वास दिलाउनुभएको छ ।
रुग्ण उद्योगहरूलाई ब्युँताएर स्वदेशी उत्पादन बढाउने सरकारी नीतिअनुसार यो उद्योगलाई सञ्चालन गर्न लागिएको हो । उद्योग पुनः सञ्चालनमा आएसँगै रोजगारीको अवसर सिर्जना हुनुका साथै स्वदेशी कपडा उत्पादनमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।



















