Logo

३ असार, काठमाडौं । देशका विभिन्न ११ जिल्लामा फैलिएको घातक पन्छी रोग ‘बर्डफ्लु’ सात जिल्लामा पूर्णरूपमा नियन्त्रणमा आएको छ । पशुसेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको हो ।

तर काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसँगै काभ्रेपलाञ्चोकमा भने बर्डफ्लुको जोखिम अझै कायम रहेको विभागले जनाएको छ । यी चार जिल्लालाई विभागले निरन्तर निगरानीमा राखेको छ ।

रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरिएको थियो । टोलीले संक्रमित क्षेत्रका पन्छी, अण्डा, दाना तथा अन्य पन्छीजन्य सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको पशुसेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले जानकारी दिए ।

संक्रमण थप फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयहरूले सीमा नाका तथा अन्य संवेदनशील क्षेत्रमा उच्च सतर्कता अपनाएका थिए । अवैध रूपमा ओसारपसार गरिएका पन्छीसमेत नियन्त्रणमा लिएर नष्ट गरिएको विभागले जनाएको छ ।

संक्रमणको अवस्था केही जिल्लामा सामान्य बन्दै गएपछि पन्छी ओसारपसारमा लगाइएको कडाइलाई क्रमशः खुकुलो बनाइएको छ । उच्च मृत्युदर भएको यो संक्रामक रोग नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी जनशक्ति परिचालन गरिएको प्रवक्ता उपाध्यायले बताए ।

विभागले पन्छीपालक किसानलाई जैविक सुरक्षामा विशेष ध्यान दिन र पन्छीमा शंकास्पद लक्षण देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ ।


सम्बन्धित समाचार