Logo

२३ असार,वीरगञ्ज । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणी गरेको आरोपमा पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी) रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डीएसपी मधुसूदन न्यौपानेले अधिकारीलाई हिरासतबाट मुक्त गरिएको पुष्टि गरेका छन् । उनका अनुसार हालसम्म अधिकारीविरुद्ध कुनै ठोस प्रमाण वा औपचारिक उजुरी नपरेकाले सम्झाइबुझाइ छाडिएको हो ।

प्रहरीले अधिकारीलाई ‘माथिको आदेश’ मा पक्राउ गरिएको जनाएको थियो । बारा गढीमाइ नगरपालिका निवासी एचए अधिकारीलाई सोमबार साँझ साढे ७ बजेतिर जनकपुरधामको पिडारी चोकबाट नियन्त्रणमा लिइएको थियो ।

उनको पक्राउपछि स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गर्दै आएका थिए । घटनालाई लिएर सामाजिक सञ्जालमा प्रहरी तथा सरकारको आलोचना समेत भएको थियो ।

अधिकारीले स्वास्थ्यकर्मीहरूको सेवा–सुविधा, दरबन्दी र पेशागत सुरक्षालगायतका विषयमा असन्तुष्टि जनाउँदै समस्या समाधान गर्न नसके राजीनामा गर्न आग्रह गरेका थिए ।

गत शनिबार उनले फेसबुकमा स्वास्थ्यमन्त्री मेहताको तस्वीरमा रातो रङको क्रस चिन्ह लगाउँदै ‘माफिया मन्त्री’ लेखिएको पोस्ट सार्वजनिक गरेका थिए । सोही विषयलाई लिएर प्रहरीले उनलाई पक्राउ गरेको थियो ।


सम्बन्धित समाचार