Logo

२३ असार,वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगन्जको मुख्य सडक क्षेत्रमा सडक सीमाभित्र परेका घर तथा संरचना हटाउने अभियानलाई सडक डिभिजन कार्यालय हेटौंडाले तीव्र बनाएको छ। मंगलबार मात्रै सातवटा डोजर परिचालन गरी करिब ७० निजी भवन तथा संरचना हटाइएको छ।

सडक डिभिजन कार्यालयका इन्जिनियर तथा वीरगन्जका लागि फोकल पर्सन दुर्गा प्रसादका अनुसार सातमध्ये एउटा डोजर उच्च अदालत क्षेत्र र बाँकी छवटा डोजर मुर्ली क्षेत्रमा परिचालन गरिएको थियो।

उनले मंगलबार दिउँसो साढे ३ बजेसम्म गण्डकदेखि मुर्ली क्षेत्रसम्मका करिब ७० निजी भवन तथा संरचना हटाइएको जानकारी दिए। यस क्षेत्रमा रहेका करिब आधा दर्जन सरकारी भवनका संरचनामा भने हाल डोजर नचलाइएको उनले बताए।

सडक सीमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सडक डिभिजन कार्यालयले गत शुक्रबारदेखि अभियान सुरु गरेको थियो। कृषि औजार कारखानासम्मका संरचना हटाइसकेपछि बहुअरी क्षेत्रका स्थानीयले अवरोध गरेपछि शुक्रबार साँझ अभियान रोकिएको थियो।

त्यसपछि सोमबार बिहानदेखि कार्यालयले पुनः डोजर परिचालन गर्दै अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिएको हो।

उता, प्रभावित स्थानीयले उचित समन्वय, व्यवस्थापन तथा वैकल्पिक व्यवस्था नगरी सडक विस्तारको काम अघि नबढाउन माग गर्दै आएका छन्। उनीहरूले सडक विस्तारसँगै विस्थापित हुने परिवारको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्।


सम्बन्धित समाचार