Logo

२३ असार,वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रबाट १६६ किलोग्राम गाँजासहित दुई जनालाई नेपाली सेनाले पक्राउ गरेको छ।

नेपाली सेनाको सबुज गणअन्तर्गत सुरक्षा पोस्ट प्रतापपुरबाट खटिएको नियमित गस्ती टोलीले विशेष निगरानीका क्रममा मकवानपुरको चुरे क्षेत्रअन्तर्गत पर्ने निकुञ्जको बगई खोलानजिक शंकास्पद अवस्थामा रहेका दुई जनालाई नियन्त्रणमा लिएको हो।

जाँचका क्रममा उनीहरूको साथबाट १६६ किलोग्राम गाँजा बरामद भएपछि पक्राउ गरिएको सेनाले जनाएको छ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–३, पलासेका ५४ वर्षीय विक्रम सिंतान र ४८ वर्षीय गोकर्ण मोक्तान रहेका छन्।

बरामद गाँजा तथा दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीको रोहबरमा इलाका प्रहरी कार्यालय मनहरीमा बुझाइएको नेपाली सेनाले जनाएको छ।

मकवानपुर, बारा र पर्सा जिल्लामा फैलिएको पर्सा राष्ट्रिय निकुञ्जको चुरे क्षेत्र घना जंगल, दुर्गम भूगोल र सीमित मानव बस्तीका कारण लामो समयदेखि विभिन्न अवैध गतिविधिका लागि प्रयोग हुने गरेको सुरक्षा निकायको निष्कर्ष छ। विशेषगरी गाँजालगायत लागूऔषध ओसारपसारमा संलग्न समूहहरूले जंगलभित्रका भित्री बाटो प्रयोग गर्ने गरेको जनाइएको छ।

यस्ता गतिविधि नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनले संयुक्त रूपमा नियमित गस्ती तथा निगरानी अभियान सञ्चालन गर्दै आएका छन्। सुरक्षा निकायले निकुञ्ज क्षेत्रलाई लागूऔषध ओसारपसारको मार्गका रूपमा प्रयोग गर्ने प्रयासविरुद्ध थप कडाइ गरिने जनाएको छ।


सम्बन्धित समाचार