२५ असार, काठमाडौँ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट र मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबिच पोखरामा भेटवार्ता भएको छ । अन्तर–प्रदेश भ्रमणका क्रममा पर्यटकीय नगरी पोखरा पुगेका मधेसका प्रदेश प्रमुख कर्ण र गण्डकीका प्रदेश प्रमुख भट्टबिच पोखरास्थित प्रदेश प्रमुखको निवासमा भेटवार्ता भएको हो ।
भेटका क्रममा दुई भिन्न भौगोलिक र सांस्कृतिक पहिचान बोकेका प्रदेशबिचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउँदै आगामी दिनमा संस्थागत सहयोग र सहकार्य बढाउने विषयमा गहन छलफल भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
औपचारिक भेटघाटका क्रममा दुवै प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशको विद्यमान वस्तुस्थिति, प्रशासनिक चुनौती र हालसम्म भएगरेका सकारात्मक गतिविधिबारे अनुभव साझा गरेका थिए। दुवै प्रदेशमा सञ्चालित उदाहरणीय र राम्रा कामहरूको सिको (अनुशरण) गर्दै अघि बढ्ने विषयमा उनीहरू सहमत देखिएका छन् ।
विशेष गरी प्रदेश संरचनाको संस्थागत विकास, प्रादेशिक मर्यादाको प्रवर्द्धन र संघीयताको सुदृढीकरणका लागि नेपालको संविधानको मर्म र भावनाअनुसार अगाडि बढ्नुपर्नेमा दुवै प्रमुखले विशेष जोड दिएका छन् ।
भेटका क्रममा गण्डकीका प्रदेश प्रमुख भट्टले संवैधानिक र कानुनी व्यवस्थाअनुसार आफूहरू प्रदेशमा संघ सरकारको प्रतिनिधिको रूपमा रहेको स्मरण गराए । उनले प्रदेश प्रमुखको भूमिका केवल आलंकारिक मात्र नभई संघीय सरकार र प्रदेश सरकारबिचको एउटा बलियो कडी एवं कुशल समन्वयकर्ताको रूपमा रहेको उल्लेख गरे ।
मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले आफ्नो यो भ्रमण नितान्त व्यक्तिगत नभई अन्तर-प्रदेश सम्बन्ध सेतु निर्माण गर्ने कार्य भएको बताए। “म सिंगो राष्ट्रिय एकताको अभियानकै रूपमा यतिबेला देशका सातै प्रदेशको भ्रमणमा निस्किएको हुँ,” प्रमुख कर्णले भने । सोही अवसरमा उनले गण्डकीका प्रमुख भट्टलाई मधेस प्रदेशको भ्रमणका लागि औपचारिक निमन्त्रणासमेत दिएका छन् ।
दुई प्रदेशका सर्वोच्च पदाधिकारीबिचको यस परिचयात्मक तथा स्वागत कार्यक्रममा गण्डकी प्रदेश प्रमुख कार्यालयका सचिव विजय राना, मधेस प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद दाहाल, गण्डकी प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव रञ्जन अधिकारी लगायत दुवै प्रदेशका उच्चपदस्थ प्रशासनिक कर्मचारीहरूको उपस्थिति रहेको थियो ।



















