Logo

२७ वैशाख, जनकपुर। विद्यालयको जग्गा अतिक्रमण गरी पार्किङस्थल निर्माण नगर्न जनकपुर उच्च अदालतले जनकपुरधाम उपमहानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय भोजराज अधिकारी र सागर विष्टको संयुक्त इजलासले जनकपुरधाम वडा नं. ८ स्थित राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको जग्गामा पार्किङस्थल नबनाउन अन्तरिम आदेश जारी गरेको हो । स्थानीयवासी बलदेव साह तेलीले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय समेतलाई विपक्षी बनाई दिनुभएको रिट निवेदनमा अदालतले यस्तो आदेश गरेको हो ।

जग्गा अतिक्रमण गरी नगर सवारीसाधन पार्किङस्थल बनाउँदा विद्यालयमा ध्वनि प्रदूषण बढाउने र विद्यार्थीकोे पठनपाठनमा पनि ठूलो असर पर्ने भन्दै अदालतले निर्माण कार्यमा रोक लगाएको हो । उच्च अदालतले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ र उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले आधुनिक पार्किङस्थल निर्माण गर्न नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहले वडा नं. ८, दशरथ मन्दिरको छेउमा रहेको करिब १२ कट्ठा जग्गामा गत माघ २७ गते पार्किङस्थलको शिलान्यास गरेका थिए ।

 


सम्बन्धित समाचार