२७ असार, काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले ट्राफिक जरिवानाका विषयमा दिएको विवादास्पद अभिव्यक्तिप्रति सार्वजनिक रूपमा उनले माफी मागेका छन् । सामाजिक सञ्जालमा आलोचना भएपछि मन्त्री डा. पुनले आफ्नो भनाइ फिर्ता लिँदै माफी मागेका हुन् ।
केही दिनअघि सञ्चार माध्यमहरूलाई अन्तर्वार्ता दिने क्रममा मन्त्री पुनले ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई ५० हजार रुपैयाँ जरिवाना गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि सर्वसाधारण र चालकहरूले उनको आलोचना गरेका थिए ।
विवाद बढेपछि मन्त्री पुनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै लेखेका छन्, “केही दिन अगाडि सोसल मिडियाका केही पत्रकारहरूलाई अन्तर्वार्ता दिँदा रु. ५० हजार जरिवाना गर्नुपर्छ भनेर मैले बोलेको कुरा फिर्ता गर्दै घोषणा गर्दछु । त्यसो गर्दा कसैलाई अज्ञानवश चोट पुगेको छ भने माफ गर्नुहोला।” उनले ट्राफिक नियमलाई अटेर गर्नेहरूलाई मुटुमा हात राखेर सोच्न समेत आग्रह गरेका छन् ।
आफ्नो अभिव्यक्तिको बचाउ गर्दै मन्त्री पुनले पत्रकारहरूले नै आफूलाई जबरजस्ती विवादमा तानेको आरोप लगाएका छन् । उनले ट्राफिक जरिवाना सम्बन्धी कुरामा आफूलाई केही थाहा छैन भन्दाभन्दै पनि पत्रकारहरूले कोट्याई–कोट्याई सोधेको उल्लेख गरेका छन् । “मैले नियम अटेर गर्नेलाई जरिवाना गर्नुपर्छ मात्र भनेको हो, ५० हजारको कुरा उनीहरूले नै निकालेका हुन्,” उनले भनेका छन्, “अटेर गर्ने र अपराध गर्नेहरूलाई आवश्यक जरिवाना तथा दण्ड सजाय नगरे देश र समाज कस्तो हुन्छ? आफैँ कल्पना गर्नुहोस्।”
यस घटनाबाट आक्रोशित बनेका मन्त्री पुनले सामाजिक सञ्जाल र मूलधारका सञ्चार माध्यमहरूका लागि एक वर्षसम्म अन्तर्वार्ता नै नदिने घोषणा गरेका छन् । उनले लेखेका छन्, “आजदेखि मैले कुनै पनि ठुला साना युट्युबरसहित सोसल मिडियाहरू र पत्रकारहरू कसैलाई पनि अति महत्त्वपूर्ण सार्वजनिक महत्त्वका विषयबाहेक एक वर्षसम्म एक शब्द पनि अन्तर्वार्ता दिने छैन, छैन, छैन।”




















