Logo

२९ असार,काठमाडौं ।काठमाडौंका तीन प्रमुख सञ्चारमाध्यमका कार्यालय प्रवेशद्वारमा सोमबार बिहान शंकास्पद रूपमा गाडी पार्किङ गरी आवतजावतमा अवरोध पुर्‍याइएको छ।

अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर मिडिया हाउसको कार्यालय गेटमा एकै समयमा उस्तै शैलीमा गाडी राखिएको पाइएको हो। कार्यालय प्रवेशमा अवरोध हुने गरी गाडी पार्किङ गरिएपछि सम्बन्धित मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएपछि प्रहरीले तीनवटै स्थानमा पुगेर गाडीधनीको खोजी तथा घटनाबारे प्रारम्भिक अनुसन्धान थालेको छ। अहिलेसम्म कसले र किन यस्तो गरेको भन्ने विषयमा ठोस जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी तथा प्रवक्ता पवन भट्टराईले शंकास्पद गाडीहरूलाई नियन्त्रणमा लिएर छानबिन गर्ने र घटनाको वास्तविकता पत्ता लगाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

सञ्चारमाध्यमका कार्यालय गेटमै शंकास्पद रूपमा गाडी राखेर पत्रकारको आवतजावतमा अवरोध सिर्जना गरिएको घटनाप्रति सरोकारवालाहरूले चासो व्यक्त गरेका छन्।

नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा गाडी राखेर पत्रकारलाई काममा जान अवरोध गर्ने तथा त्रास सिर्जना गर्ने प्रयास भएको जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेटमा बिहान ७ बजेदेखि नै शंकास्पद गाडी पार्किङ गरिएको उल्लेख छ।

महासंघले तत्काल अवरोध हटाउन, सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।

महासंघ अध्यक्ष निर्मला शर्मासहितको टोलीले अनलाइनखबरलगायत सञ्चारगृहमा पुगेर अवस्थाको निरीक्षण गरेको छ। अध्यक्ष शर्माले घटना शंकास्पद र नियोजित प्रकृतिको देखिएको भन्दै पत्रकार र सञ्चारमाध्यमको सुरक्षामा संवेदनशील हुन सरकारलाई आग्रह गरेकी छिन्।

यस्तै, अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेतले पत्रकारहरूले सुरक्षित वातावरणमा काम गर्न सक्ने अवस्था सुनिश्चित गर्न आवश्यक पहल गर्न महासंघको टोलीलाई आग्रह गरेका छन्।


सम्बन्धित समाचार