Logo

३२ असार, काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबलका कीर्तिमानी नायक लियोनल मेसीको कप्तानीमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार बिहान सम्पन्न रोमाञ्चक दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डमाथि २-१ को पुनरागमन जित निकाल्दै अर्जेन्टिनाले लगातार दोस्रो पटक फाइनलको यात्रा तय गरेको हो ।

३९ वर्षको परिपक्व उमेरमा पनि मैदानमा उस्तै जोस र जादुमयी लयका साथ प्रस्तुत भइरहेका मेसीले टोलीको जितमा दुवै गोलका लागि उत्कृष्ट असिस्ट (पास) उपलब्ध गराउँदै नायक बने ।

यो जितसँगै अर्जेन्टिनाले ६४ वर्षपछि लगातार दोस्रो पटक विश्वकपको उपाधि रक्षा गर्ने ऐतिहासिक अभियानलाई जीवन्त राखेको छ । सेमिफाइनलमा गोल गर्न असमर्थ रहे पनि दुई असिस्ट गरेसँगै मेसी व्यक्तिगत अवार्डतर्फ गोल्डेन बुट र गोल्डेन बल दुवैको बलियो दाबेदारका रूपमा उभिएका छन् ।

जारी विश्वकपमा ७ खेल खेलिसकेका मेसीले फ्रान्सका कप्तान किलियन एमबाप्पेसँग समान ८ गोल गरे पनि असिस्ट (गोलका लागि पास उपलब्ध गराएको) संख्याका आधारमा एमबाप्पेलाई पछि पार्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थान ओगटेका छन्। हाल मेसीको नाममा ४ असिस्ट छ भने स्पेनसँग सेमिफाइनलमा पराजित भई बाहिरिएको फ्रान्सका कप्तान एमबाप्पेको नाममा ३ असिस्ट मात्रै छ ।

फ्रान्सले अब तेस्रो स्थानका लागि इंग्ल्यान्डसँग खेल्न बाँकी रहेकाले एमबाप्पेको गणितीय सम्भावना कायमै रहे पनि फाइनल पुगेको अर्जेन्टिनाका मेसी निकै बलियो स्थितिमा छन्। मेसीलाई चुनौती दिने अन्य खेलाडीहरूमा ७ गोल गरेका नर्वेका एर्लिङ हालान्ड तथा समान ६ गोल गरेका इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङघम प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

फाइनल पुगेको स्पेनका मिकेल ओजाबायाल ५ गोलका साथ सातौँ स्थानमा छन्, जसले मेसीलाई भेट्टाउन फाइनलमा कम्तीमा ५ गोल गर्नुपर्ने असम्भव प्रायः चुनौती छ। यदि मेसीलाई कसैले पछि पार्न नसकेमा उनले करियरमा पहिलो पटक विश्वकपको गोल्डेन बुट अवार्ड चुम्नेछन् ।

यस विश्वकपमा मेसीले आफ्नो खेल जीवनका एकपछि अर्को ऐतिहासिक कीर्तिमानहरूलाई पुनर्गठित गरिरहेका छन् । उनले विश्वकपको इतिहासमा लगातार ९ खेलमा गोल गर्ने र नकआउट चरणका लगातार ६ खेलमा गोल गर्ने अभूतपूर्व कीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन् ।

यसका अतिरिक्त विश्वकपको इतिहासमै ३३ खेल, २१ गोल, ११ असिस्टका साथ मेसी विश्व फुटबल इतिहासकै शीर्ष स्थानमा पुगेका छन् ।

सन् २०१४ मा अर्जेन्टिनालाई फाइनल पुर्‍याउँदा उपविजेता बने पनि उत्कृष्ट खेलाडी बन्दै पहिलो पटक र सन् २०२२ मा कतार विश्वकपको उपाधि जित्दा दोस्रो पटक गोल्डेन बल (उत्कृष्ट खेलाडीको अवार्ड) जितेका मेसी इतिहासमै दुई पटक यो अवार्ड जित्ने एकमात्र खेलाडी हुन् ।

यस पटक पनि टोलीलाई फाइनलमा डोर्‍याएसँगै उनी तेस्रो पटक गोल्डेन बल जित्ने संघारमा छन्। अब अर्जेन्टिनाले उपाधिका लागि फाइनलमा उपाधि भोको स्पेनको सामना गर्नेछ, जहाँ मेसीको नजर टोलीलाई लगातार दोस्रो पटक विश्वविजेता बनाउँदै आफ्नो सुनौलो करियरमा अर्को एउटा ऐतिहासिक इँटा थप्नेमा हुनेछ ।


सम्बन्धित समाचार