३२ असार,काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्याम नजिकै रहेको सिमखोलामा आएको बाढीमा स्कुटरसहित बेपत्ता भएका चालक मृत अवस्थामा फेला परेका छन्।
असार २९ गते दिउँसो आएको बाढीले स्कुटरसहित बगाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले निरन्तर खोजी अभियान सञ्चालन गरेको थियो।
खोजीका क्रममा बिहीबार बिहान सर्लाहीको बागमती नगरपालिका–१ निवासी २९ वर्षीय महेश कुमार कार्कीको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कार्कीको शव स्कुटर भेटिएको स्थानभन्दा केही तल खोलाको किनारमा करिब एक मिटर गहिरो बालुवा र लेदोमा पुरिएको अवस्थामा फेला परेको हो।
यसअघि कार्कीले चलाएको बागमती प्रदेश ०२–०३२ प ८०५४ नम्बरको स्कुटर घटनास्थलबाट करिब एक सय मिटर तल मंगलबार फेला परेको थियो।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेका कार्की सम्पर्कविहीन भएपछि उनका आफन्तहरू असार ३० गतेदेखि मकवानपुर पुगेर खोजी कार्यमा सहभागी भएका थिए।
शव फेला परेपछि प्रहरीले मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।



















