Logo

१ साउन, काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्षको साउन १ गते मनाइने पर्व साउने सङ्क्रान्ति आज देशभर परम्परागत हर्षोल्लासका साथ स्नान, दान तथा पूजा–आराधना गरी मनाइँदै छ । खगोलीय गणनाअनुसार सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले यसलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ ।

वैदिक सनातन परम्परामा आजको दिनलाई विशेष महत्त्वका साथ हेर्ने गरिन्छ । साउन महिना सुरु भएसँगै सूर्य उत्तरबाट दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि औपचारिक रूपमा ‘दक्षिणायन’ सुरु भएको छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई नेपाली संस्कृतिमा सिमानाका दुई महत्त्वपूर्ण खम्बाका रूपमा लिइन्छ ।

नेपाली समाज कृषिप्रधान रहेकाले असार महिनाभर कृषिका कार्यमा व्यस्त रहने कृषिकर्मीहरूले हिलोमैलोका कारण लाग्न सक्ने छालासम्बन्धी रोगव्याधिबाट मुक्ति पाउन आजको दिन लुतो फाल्ने गर्दछन् । धार्मिक एवं सांस्कृतिक विश्लेषक प्रा.डा. देवमणि भट्टराईका अनुसार असारे हिलोका कारण आउने स्वास्थ्य समस्या निवारणका लागि यो औषधीय र प्रतीकात्मक परम्परा परापूर्वकालदेखि चलिआएको हो ।

परम्पराअनुसार आज साँझ कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा तथा नासपातीलगायत औषधीय गुणले युक्त वनस्पतिहरू एकत्रित गरी कण्डारक नाम गरेको राक्षसको पूजा गरेर बलिरहेको अगुल्टो घरबाहिर फाल्ने चलन छ । लुतो फाल्ने क्रममा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र रोगव्याधि घरभित्र नपसोस् भनी केही बेर ढोका बन्द गर्ने अनौठो सांस्कृतिक अभ्यास नेपाली समाजमा जीवितै छ ।

साउन महिना सुरु भएसँगै नेपाली महिलाहरूको भेषभूषा र सौन्दर्यमा पनि छुट्टै रौनक देखिन्छ । प्रकृतिसँगको सामीप्यता र निकटता झल्काउन महिलाहरूले हरियो चुरा, पोते र हरियो कपडा पहिरिने नयाँ शैली व्यापक बन्दै गएको छ।

साउन महिनालाई देवादिदेव भगवान् शिवको विशेष पूजा–आराधना गर्ने पवित्र महिनाका रूपमा लिइने हुनाले आजैदेखि काठमाडौँको पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरूमा जल चढाउने र पूजा गर्ने भक्तजनको घुइँचो लाग्न सुरु भएको छ ।


सम्बन्धित समाचार
भर्खरै