१ साउन, वीरगञ्ज । वीरगञ्जलाई कर्मथलो बनाएर विगत दुई दशकदेखि खोज पत्रकारितामा सक्रिय पत्रकार सुरेश बिडारी राष्ट्रिय स्तरको गौरवमय पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आर्थिक पत्रकारितामार्फत पुर्याएको विशिष्ट योगदानको कदर गर्दै विडारीलाई यस वर्षको ‘भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ प्रदान गरेको हो ।
काठमाडौँमा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमका बीच प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले पत्रकार बिडारीलाई उक्त पुरस्कार हस्तान्तरण गरे । यो पुरस्कार तत्कालीन उपप्रधान तथा अर्थमन्त्री स्व. भरतमोहन अधिकारीको स्मृतिमा नाफिजद्वारा स्थापित आर्थिक पत्रकारिता पुरस्कार हो ।
बिडारीले खोज पत्रकारिता केन्द्र (CIJ) नेपालका लागि तयार पारेको ‘लिजको नाममा अस्तव्यस्त भए वीरगञ्जका सार्वजनिक सम्पत्ति’ शीर्षकको विशेष खोजी सञ्चार जगत् र स्थानीय प्रशासनमा निकै चर्चित बनेको थियो । उनको उक्त खोजमूलक रिपोर्ट (विस्तृत विवरणका लागि: https://np.cijnepal.org/detail/15584 ) मा वीरगञ्जका बहुमूल्य सार्वजनिक जग्गा तथा ऐतिहासिक भवनहरू कसरी कौडीको भाउमा लिज (भाडा) मा दिएर अस्तव्यस्त बनाइयो र सार्वजनिक सम्पत्तिको दोहन गरियो भन्ने तथ्यपरक खुलासा गरिएको थियो । स्थानीय निकाय र राजनीतिक शक्तिको आडमा भएका यस्ता आर्थिक बेथितिमाथि उनले गरेको निरन्तरको खबरदारीकै उच्च मूल्याङ्कन गर्दै नाफिजले उनलाई यो वर्षको शीर्ष पुरस्कारका लागि योग्य ठहर्याएको हो।
पुरस्कृत बिडारी वीरगञ्जको सञ्चार क्षेत्रमा एक स्थापित र आदरणीय नाम हो । उनी वीरगञ्जमा रहेको प्रतिष्ठित सामुदायिक रेडियो नारायणी एफएमको पूर्व स्टेशन म्यानेजर समेत हुन्, जहाँ उनले लामो समय रेडियोको व्यावसायिक विकास र स्थानीय आवाजलाई बुलन्द पार्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । तराई-मधेस क्षेत्रमा रहेर विशेष गरी आर्थिक सुशासन, भ्रष्टाचार र सार्वजनिक सरोकारका विषयमा निर्भीक खोज पत्रकारिता गर्दै आएका विडारी हाल राष्ट्रिय अनलाइन सञ्चारमाध्यम सेतोपाटी डटकममा आबद्ध छन् ।
सोही समारोहमा अन्य दुई विधाका पुरस्कार पनि वितरण गरिएको थियो । जसमा ‘भरतमोहन अधिकारी नाफिज सहकारी पत्रकारिता पुरस्कार’ नेपाल प्रेस डटकमकी रिता राउत र ‘नेपाल निर्जीवन बीमा व्यवसायी संघ–नाफिज बीमा पत्रकारिता पुरस्कार’ बिमा पोष्ट डटकमकी रीना खत्रीलाई प्रदान गरिएको छ ।
नाफिजले आर्थिक, सहकारी र बीमा क्षेत्रको पत्रकारितामार्फत मुलुकको अर्थतन्त्र र सञ्चार जगत्मा पुर्याएको सकारात्मक प्रभावको कदरस्वरूप हरेक वर्ष यी पुरस्कारहरू प्रदान गर्दै आएको जनाएको छ ।



















