Logo

 २ साउन,काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका प्रशिक्षार्थी चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले श्रम शोषणको विरोध गर्दै शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्ध संघर्ष समिति’को नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागी चिकित्सकहरूले आफूहरूलाई श्रम ऐनविपरीत लामो समयसम्म काम गर्न बाध्य पारिएको आरोप लगाए।

उनीहरूले नेपालको श्रम ऐन, २०७४ अनुसार प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक)को दैनिक ड्युटी अधिकतम १२ घण्टा र साप्ताहिक ७२ घण्टाभन्दा बढी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य बिदाको व्यवस्था लागू गर्न माग गरेका छन्।

त्यस्तै, हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइए श्रम ऐनअनुसार अतिरिक्त समय (ओभरटाइम) भत्ता उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

प्रदर्शनकारीहरूले नेपाल सरकारले बजेटमार्फत घोषणा गरेको तलबवृद्धि र यसअघि भएको सहमतिअनुसार आवासीय चिकित्सकलाई अधिकृत आठौँ तहसरहको तलब तत्काल कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेका छन्।

यस्तै, एमबीबीएस तथा बीडीएस अध्ययन पूरा गरेपछि एमडी, एमएस वा एमडीएस अध्ययनका लागि अनिवार्य गरिएको एक वर्षको कार्यअनुभवको व्यवस्था खारेज गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।

प्रदर्शनका क्रममा चिकित्सकहरूले श्रम अधिकारको सम्मान, उचित पारिश्रमिक तथा काम गर्ने अनुकूल वातावरण सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन्।


सम्बन्धित समाचार