४ साउन,वीरगञ्ज ।बाराको प्रसौनी गाउँपालिकामा एलपी ग्यास चुहिएर आगलागी हुँदा एक जना घाइते भएका छन्।
घाइते हुनेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ स्थायी घर भई हाल बाराको प्रसौनी गाउँपालिका–५ बहुअरी टोलमा डेरा गरी बस्दै आएका ३३ वर्षीय महेश पटेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गए राति आफ्नै कोठामा खाना पकाउने क्रममा एलपी ग्यास चुहिएपछि अचानक उनको लगाएको सर्टमा आगो सल्किएको थियो। आगलागीबाट पटेलको अनुहार, छाती, पिठ्युँ तथा दुवै हात जलेका छन्।
घाइते पटेललाई तत्काल उपचारका लागि पर्सास्थित गण्डक अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका अनुसार उनको अवस्था मध्यम रहेको छ भने उपचारका क्रममा उनका आफन्तहरू पनि अस्पतालमा उपस्थित रहेका छन्।
घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाको कारण तथा क्षतिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।




















