Logo

५ साउन, काठमाडौँ । भारतीय प्रहरीले सोमबार नयाँ दिल्लीको मुख्य केन्द्रमा हजारौँको सङ्ख्यामा उपस्थित प्रदर्शनकारीहरूलाई संसद् भवनतर्फ अघि बढ्नबाट रोक्न अश्रुग्यास प्रहार गरेको छ । भारतको शिक्षा प्रणालीमा व्यापक सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आन्दोलित विद्यार्थी तथा युवाहरूमाथि प्रहरीले बल प्रयोग गरेको हो ।

लगातार परेको मनसुनी वर्षा र प्रहरीको व्यापक अवरोधलाई बेवास्ता गर्दै नयाँ दिल्लीको जन्तरमन्तरमा भेला भएका युवाहरूले भारतीय राजधानीमा पछिल्लो पाँच वर्षयताकै सबैभन्दा ठुलो प्रदर्शन गरेका हुन् ।

संसद्तर्फ मार्च गर्ने क्रममा प्रहरीले रोक्न खोजेपछि प्रदर्शनकारी र सुरक्षाकर्मीबिच भिडन्त भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका गोला प्रहार गरेपछि जन्तरमन्तर क्षेत्र क्षेत्र तनावग्रस्त र कोलाहलपूर्ण बनेको थियो । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए भने झडपका क्रममा दर्जनौँ प्रदर्शनकारी र प्रहरी कर्मचारी घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

तनाव चर्किएपछि दिल्ली प्रहरीले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीहरूलाई संयम अपनाउन र कुनै पनि गैरकानुनी वा हिंसात्मक गतिविधिमा संलग्न नहुन अपिल गरेको छ । प्रहरीले अनुमति नदिएको यो प्रदर्शनका क्रममा सम्भावित हिंसा रोक्न भन्दै नयाँ दिल्लीको केन्द्रीय क्षेत्रमा इन्टरनेट सेवा समेत अवरुद्ध पारिएको थियो ।

प्रदर्शनमा सहभागी मुख्यतया युवा विद्यार्थीहरूले विभिन्न राष्ट्रिय परीक्षाहरूमा हुने गरेको प्रश्नपत्र बाहिरिने (पेपर लीक) घटना, प्राविधिक त्रुटि र अनियमितताको विरोध गरिरहेका छन् । उनीहरूले शिक्षा प्रणालीमा सुधार र देशभित्र व्याप्त बेरोजगारीको अन्त्य हुनुपर्ने माग राखेका छन् ।

“हाम्रो देशलाई यस्तो सरकार चाहिन्छ जसले युवाहरूले भनेको कुरा ध्यान दिएर सुन्छ र आफ्ना गल्ती सुधार्न तयार हुन्छ,” प्रदर्शनमा सहभागी १८ वर्षीय विद्यार्थी सुमित कुमारले भने, “भविष्य हाम्रो हो, यी राजनीतिज्ञहरूको होइन।”

यो आन्दोलन शनिबार प्रमुख वातावरणविद् तथा सामाजिक अभियन्ता सोनम वाङचुकलाई जबरजस्ती अस्पताल लगिएपछि झनै उग्र बनेको हो । वाङचुकले ‘ककरोच जनता पार्टी’ (सीजेपी) ले सुरु गरेको आन्दोलनको समर्थनमा २० दिनदेखि अनशन बस्दै आएकोमा सरकारले हस्तक्षेप गरी उनलाई अस्पताल पुर्‍याएको थियो ।

सामाजिक सञ्जालमार्फत सङ्गठित भएको ‘सीजेपी’ ले गत मे महिनादेखि लाखौँ युवा तथा शुभेच्छुकहरूलाई गोलबद्ध गरिसकेको छ । अनलाइन माध्यमबाट सुरु भई सडकमा पोखिएको यो आन्दोलन सन् २०२४ मा तेस्रो पटक निर्वाचित भएका प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रवादी सरकारका लागि ठुलो चुनौतीका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार