Logo

५ साउन, रौतहट । हरेक वर्ष मनसुनको समयमा कटान र डुबानको उच्च जोखिममा पर्ने रौतहटको मौलापुर नगरपालिका–१, मर्यादपुरस्थित लालबकैया खोलाको बाँधको वर्तमान अवस्था र बाढीको जोखिम मूल्याङ्कन गर्न सोमबार साँझ उच्चस्तरीय अनुगमन तथा निरीक्षण गरिएको छ ।

विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि जनप्रतिनिधि, जिल्ला प्रशासन र सुरक्षा निकायका प्रमुखहरूसहितको टोलीले बाँधको स्थलगत अवलोकन गर्दै कटान रोकथामका उपायबारे छलफल गरेको हो ।

अनुगमन टोलीमा रौतहट क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य धिरजप्रसाद पटेल, प्रमुख जिल्ला अधिकारी (सिडियो) दिनेश सागर भुसाल, मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमारी साह, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजाल, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हजमिनियाका प्रमुख एसपी रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धानका उप-निर्देशक कुमार बुढाथोकी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रतिनिधि तथा अन्य सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो ।

टोलीले लालबकैया खोलाले बाँधमा पुर्‍याउन सक्ने क्षति, सम्भावित कटान क्षेत्र र आसपासका बस्तीमा पर्न सक्ने प्रभावबारे सूक्ष्म अवलोकन गरेको थियो । अनुगमनका क्रममा बाढी वा कटानको जोखिम उत्पन्न हुनासाथ तत्काल परिचालन हुने गरी सुरक्षा निकाय र सिँचाइ कार्यालयबिच उच्च समन्वय कायम गरी पूर्वतयारीका कामलाई प्रभावकारी बनाउने सहमति भएको छ ।

रौतहटको पूर्वी भेगमा बहने बागमती र पश्चिम भेगको लालबकैया नदीमा हरेक वर्ष वर्षायाममा आउने बाढीले आसपासका बस्ती र ठुलो परिमाणमा खेतीयोग्य जमिन कटान तथा डुबान गर्दै आएको छ ।

जोखिमलाई मध्यनजर गर्दै टोलीले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन, मौसम सम्बन्धी आधिकारिक सूचनाहरूको नियमित पालना गर्न र जोखिम बढेमा तत्कालै सुरक्षित स्थानतर्फ स्थानान्तरण हुन आग्रह गरेको छ ।

मनसुनको सक्रिय समयमा गरिएको यस संयुक्त अनुगमनलाई स्थानीयले सकारात्मक कदमका रूपमा लिएका छन् । यद्यपि, हरेक वर्ष दोहोरिने यो समस्याको स्थायी समाधानका लागि बाढी आएपछि गरिने अस्थायी मर्मतभन्दा दीर्घकालीन र मजबुत तटबन्ध निर्माणको काम समयमै अघि बढाउन स्थानीयवासीले माग गरेका छन् ।


सम्बन्धित समाचार