Logo

५ साउन, काठमाडौं । भक्तपुर नगरपालिका वडा नम्बर–१ स्थित लुम्बिनी गेस्ट हाउसको भवनबाट खसेर एक १८ वर्षीया युवतीको शङ्कास्पद मृत्यु भएको छ ।

दोलखा घर भई हाल चाँगुनारायण नगरपालिका–९ मा बसोबास गर्दै आएकी सलिना श्रेष्ठ सोमबार आफ्नो साथीहरूको समूहसँग उक्त गेस्ट हाउसमा गएकी थिइन् । गेस्ट हाउसको माथिल्लो तलाबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा ज्यान गएको हो भने उनको शव पोस्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ ।

घटनाको प्रकृति रहस्यमय बनेपछि जिल्ला प्रहरी परिसर भक्तपुरले गम्भीरतापूर्वक अनुसन्धान अगाडि बढाइएको जनाएको छ । डीएसपी दीपक कुमार कार्कीका अनुसार मृतक सलिनासँगै गेस्ट हाउसमा गएका दुई महिला र दुई पुरुष गरी चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

युवती आफैँ खसेकी हुन् वा कसैले धकेलेर वा अन्य कुनै कारणले दुर्घटना घटेको हो भन्ने विषयमा पक्राउ परेकाहरूसँग गहन सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार