५ साउन,भरतपुर । भरतपुर अस्पतालमा बिरामीको चाप उल्लेखनीय रूपमा बढेको छ। सोमबार मात्रै अस्पतालबाट तीन हजार ३६८ जनाले स्वास्थ्य सेवा लिएका छन्, जसले अस्पताल व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ।
अस्पतालका अनुसार सेवा लिनेमध्ये दुई हजार ५८९ जना स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका बिरामी रहेका छन् भने ७८९ जना बीमाबाहिरका थिए। उपचारका लागि आएका बिरामीमध्ये ६८७ जना नयाँ बिरामी रहेका छन्। आकस्मिक सेवाबाट एकै दिन २६६ जनाले उपचार लिएका थिए।
स्वास्थ्य बीमा कार्यक्रम संयोजक लीलाधर पौडेलका अनुसार अस्पतालमा आउने करिब ७० प्रतिशत बिरामी स्वास्थ्य बीमाअन्तर्गतका छन्। आकस्मिक सेवामा आएका २६६ बिरामीमध्ये १०१ जना बीमा नभएका थिए।
सोमबार मात्रै ५०७ जनाको भिडियो एक्स–रे गरिएको थियो। तीमध्ये ४१५ जना स्वास्थ्य बीमाका र ९२ जना बीमा नभएका बिरामी थिए। यसैगरी ४५ जनाको सिटी स्क्यान र ३१ जनाको एमआरआई गरिएको अस्पतालले जनाएको छ। सेवा लिनेमध्ये ८० वर्षभन्दा माथिका १०९ जना तथा ६० देखि ७९ वर्ष उमेर समूहका ७१३ जना बिरामी रहेका थिए।
भरतपुर अस्पताल स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका हिसाबले देशकै नमुना अस्पतालका रूपमा परिचित छ। चितवनसहित २२ जिल्लाका बिरामी उपचारका लागि यहाँ आउने गरेका छन्। जिल्लाका दुई ठूला मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा स्थगित भएपछि अस्पतालमा बिरामीको चाप थप बढेको अस्पतालको भनाइ छ।
अस्पतालले गत आर्थिक वर्षमा स्वास्थ्य बीमा बोर्डबाट ९२ करोड ३६ लाख ४२ हजार ९४७ रुपैयाँ ३६ पैसा भुक्तानी प्राप्त गरेको जनाएको छ। यो रकम बीमा कार्यक्रमअन्तर्गत उपचार गरिएका बिरामीको भुक्तानी हो। अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षको मङ्सिरसम्मको भुक्तानी प्राप्त भए पनि त्यसयताको करिब ४० करोड रुपैयाँ भुक्तानी आउन बाँकी रहेको संयोजक पौडेलले जानकारी दिए।
२०७४ साल भदौदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालले हालसम्म स्वास्थ्य बीमामार्फत दुई अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९ रुपैयाँ ९७ पैसा प्राप्त गरिसकेको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले बिरामीको अत्यधिक चापका कारण गुणस्तरीय सेवाभन्दा भीड व्यवस्थापनमा बढी ध्यान दिनुपर्ने अवस्था आएको बताए। उनले भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकासँग स्थानीय तहबाट नियमित औषधि वितरण, प्रयोगशाला सेवाजस्ता आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए। यसबाट अस्पतालको चाप घट्नुका साथै बिरामीले आफ्नै स्थानीय तहबाट सहज सेवा पाउने अपेक्षा गरिएको छ।




















