५ साउन,वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले वडाध्यक्ष पटेललाई सोमबार उनकै गाउँ हरिहरपुर बिर्ताबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गाउँपालिकाका एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनामा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो।
प्रहरीले घटनामा संलग्न अन्य आरोपितहरूको खोजी तथा अनुसन्धान जारी रहेको जनाएको छ।
गत असार २३ गते कालिकामाई गाउँपालिकाको कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि कार्यालय समयमै कुटपिट तथा दुर्व्यवहार भएको थियो। आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण गरिएको भन्दै गाउँपालिकाका कर्मचारीहरूले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै आन्दोलनसमेत गरेका थिए।
उक्त घटनाको अनुसन्धानका क्रममा वडाध्यक्ष पटेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।




















