Logo

५ साउन,वीरगञ्ज । जीतपुर–सिमरा उपमहानगरपालिकाले इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी तथा व्यवसायीहरूले विरोध जनाएका छन्।

उद्योगीहरूले उक्त कर गैरकानुनी भएको दाबी गर्दै असुल गरिएको रकम तत्काल फिर्ता गर्न र यस्ता वस्तुलाई स्थानीय करको सूचीबाट हटाउन माग गरेका छन्। यस विषयमा उनीहरूले उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्।

हरिप्रसाद गौतमद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उपमहानगरपालिकाले जडीबुटी, कवाडी तथा जीवजन्तु कर संकलनका लागि दिएको ठेक्काको दुरुपयोग गर्दै ठेकेदारले कानुनले कर नलाग्ने वस्तुमा समेत कर उठाइरहेको आरोप लगाइएको छ।

ज्ञापनपत्रमा स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र रहेर ऐन–कानुनअनुसार मात्रै कर संकलन गर्न पाउने भए पनि इँटा, काठ, कोइला र क्लिङ्करजस्ता वस्तुमा कर लगाउनु कानुनविपरीत भएको उल्लेख गरिएको छ।

उद्योगीहरूले इँटा उद्योगको मुख्य उत्पादन इँटा, वनबाट प्राप्त काठ, विदेशबाट आयात हुने कोइला तथा उद्योगको प्रमुख कच्चा पदार्थ क्लिङ्करमा स्थानीय कवाडी कर लगाउन नमिल्ने बताएका छन्। यस्तो करले उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने र समग्र औद्योगिक क्षेत्र प्रभावित हुने उनीहरूको भनाइ छ।

ज्ञापनपत्रमार्फत उपमहानगरपालिकालाई तत्काल यस्ता वस्तुहरूलाई स्थानीय करको सूचीबाट हटाउन, नियमविपरीत असुल गरिएको रकम सम्बन्धित उद्योगी तथा व्यवसायीलाई फिर्ता गर्न र आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक कदम चाल्न आग्रह गरिएको छ।

उक्त ज्ञापनपत्रको बोधार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालय बारामा समेत पठाइएको जनाइएको छ।


सम्बन्धित समाचार