Logo

५ साउन, काठमाडौं । संवैधानिक निकायका लागि सिफारिस भएका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढेको छ ।

संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका लागि प्रस्तावित पदाधिकारीहरूको सुनुवाइ मिति औपचारिक रूपमा तोकेको हो । सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले साउन १२ र १३ गते सुनुवाइ गर्ने निर्णय गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकमा सभापति श्रेष्ठले दिएको जानकारी अनुसार प्रस्तावित पदाधिकारीहरूविरुद्ध परेका उजुरी र सुझावहरू अध्ययनका लागि समिति सदस्यहरूलाई उपलब्ध गराइएको छ । सोही कार्यतालिका अनुसार आगामी साउन १२ गते दुई जना प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुनेछ भने साउन १३ गते प्रस्तावित प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ गरिनेछ ।

यसअघि गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा डा। राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । तोकिएका दुवै दिन बिहान समितिले बैठक डाकेर संसदीय सुनुवाइको औपचारिक प्रक्रिया पूरा गर्ने तयारी गरेको छ ।


सम्बन्धित समाचार