Logo

 ५ साउन,काठमाडौं । देशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली सुरु गरेको छ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मंगलबार विभाग पुगेर उक्त प्रणालीको शुभारम्भ गरेका हुन्। नयाँ व्यवस्थाले वैदेशिक रोजगारीमा ठगी, बढी रकम असुली तथा श्रमिकमाथि हुने शोषणविरुद्ध पीडितले अनलाइन माध्यमबाटै उजुरी दिन सक्ने व्यवस्था गरिएको मन्त्री यादवले बताए।

उनका अनुसार अब पीडितहरूले मोबाइल वा कम्प्युटरमार्फत उजुरीसँगै आवश्यक प्रमाणसमेत दर्ता गर्न सक्नेछन्। उजुरी दर्ता भएपछि आवेदकले इमेल वा सन्देशमार्फत प्राप्त ट्र्याकिङ कोड प्रयोग गरी आफ्नो मुद्दाको प्रगति अवस्थाबारे जुनसुकै बेला जानकारी लिन सक्ने व्यवस्था गरिएको छ।

मन्त्री यादवले २०५७ सालदेखि थन्किएर रहेका ४० हजारभन्दा बढी पुराना उजुरीका फाइललाई व्यवस्थित गर्दै डिजिटलाइज गर्ने काम भइरहेको जानकारी दिए।

वैदेशिक रोजगारीमा हुने ठगीलाई शून्यमा झार्ने लक्ष्यसहित सरकारले काम गरिरहेको उल्लेख गर्दै उनले प्रहरी तथा अनुसन्धान निकायसँगको समन्वयमा ठगी गर्ने व्यक्तिलाई जहाँ भए पनि कानुनी दायरामा ल्याइने बताए।

अनलाइन प्रणाली सञ्चालनसँगै वैदेशिक रोजगारीसम्बन्धी उजुरी प्रक्रिया सहज, पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार