Logo

५ साउन,वीरगञ्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुरधाम आउने भएका छन्।

पार्टीका अनुसार प्रचण्ड दिउँसो ४ बजे हवाईमार्गबाट जनकपुरधाम आइपुग्ने कार्यक्रम रहेको छ। जनकपुर पुगेपछि उनी महोत्तरीको रामगोपालपुर पुगेर पूर्व संविधानसभा सदस्य स्वर्गीय ललेन्द्र मण्डलको पुण्यतिथिमा सहभागी हुनेछन्।

त्यसपछि जनकपुरधाम फर्किएर उनले मधेश प्रदेशका पार्टी नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ। छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम, केन्द्रमा बन्न लागेको नयाँ तीनदलीय गठबन्धन तथा त्यसले मधेशको राजनीतिमा पार्न सक्ने प्रभावबारे छलफल हुने पार्टी स्रोतले जनाएको छ।

प्रचण्डले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण र मधेशमा पार्टीको भूमिकाबारे प्रदेश नेतृत्वसँग छलफल गर्ने तयारी रहेको बताइएको छ। केन्द्रको राजनीतिक समीकरण परिवर्तनसँगै पार्टी संगठनलाई थप सक्रिय र एकीकृत बनाउने विषय पनि छलफलको एजेन्डामा रहने जनाइएको छ।

यसैगरी, प्रचण्डले बुधबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा आयोजना हुने मधेश प्रदेशस्तरीय प्रशिक्षण, एकता समायोजन तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

उक्त कार्यक्रममा प्रदेशस्तरीय कमिटीका पदाधिकारी, जिल्ला नेतृत्व तथा पार्टीका जनवर्गीय संगठनका प्रतिनिधिको अनिवार्य सहभागिताका लागि पार्टीले निर्देशन दिएको जनाएको छ।


सम्बन्धित समाचार