Logo

५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले देशको वर्तमान परिस्थितिमा वैदेशिक रोजगारीलाई तत्काल रोक्न नसकिने स्पष्ट पारेका छन् ।

मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री यादवले वैदेशिक रोजगारी पूर्ण रूपमा बन्द गर्नु व्यावहारिक नहुने बताउँदै यसलाई अझ बढी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनेतर्फ सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताएका हुन् ।

नेपाली श्रमिकहरू वैदेशिक भूमिमा कुनै पनि प्रकारको शोषणमा नपरून्, उनीहरूले उचित पारिश्रमिक पाउनुका साथै आधारभूत जीवनस्तर र सेवा–सुविधा सुनिश्चित गर्न सकियोस् भन्ने उद्देश्यले सरकारले युरोपेली मुलुकहरूसँग श्रम सम्झौताका लागि पहल गरिरहेको उनले जानकारी दिए ।

विश्व ग्लोबल भिलेज भइसकेको अवस्थामा मानिसहरूको आवतजावत स्वाभाविक प्रक्रिया भएकोले सरकारले सुरक्षित र उच्च प्रतिफल दिने नयाँ गन्तव्यहरूको खोजी गरिरहेको उनको भनाइ छ ।

यसैबीच, आन्तरिक श्रम बजारमा विद्यमान समस्या र श्रमिकमाथि हुने श्रम शोषणको अन्त्य गर्न मन्त्रालयले नयाँ योजना अघि सारेको छ। देशभित्रै कार्यरत श्रमिकहरूले उचित पारिश्रमिक नपाउने र विभिन्न समस्याका लागि कार्यालय धाइरहनुपर्ने बाध्यताको अन्त्य गर्न श्रम विभागले छिट्टै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने मन्त्री यादवले घोषणा गरेका छन् ।

विगतमा कानुनको कार्यान्वयन पक्ष कमजोर हुँदा ठगी गर्नेहरूको मनोबल बढेको स्वीकार गर्दै मन्त्री यादवले अबका दिनमा सरकार ठगी गर्नेहरूविरुद्ध पूर्ण रूपमा निर्मम भएर प्रस्तुत हुने चेतावनी समेत दिएका छन् ।


सम्बन्धित समाचार