Logo

५ साउन, काठमाडौं । भक्तपुरको घ्याम्पेडाँडामा जन्मदिनको रमाइलो पार्टी भयानक हिंसामा परिणत हुँदा एक युवकको ज्यान गएको छ ।

आइतबार राति जन्मदिन मनाउन जम्मा भएका युवाहरूबीच खानपिनकै क्रममा अचानक विवाद उत्पन्न हुँदा भएको कुटाकुटबाट गम्भीर घाइते भएका बर्दिया घर भई हाल सल्लाघारी बस्दै आएका राज कार्कीको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपककुमार कार्कीले दिएको जानकारी अनुसार घ्याम्पेडाँडामा करिब ३० देखि ४० जनाको समूह जन्मदिनको उत्सव मनाउन पुगेको थियो । सोही जमघटमा आपसमा भएको हानाहान र झडपका कारण राज गम्भीर रूपमा घाइते भएका थिए ।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रहरीले उत्सवमा सहभागी ३० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर अहिले विस्तृत सोधपुछ तथा अनुसन्धान गरिरहेको छ । मृतक राजको शव परीक्षण तथा प्रक्रियाका लागि दुवाकोटस्थित अस्पतालमा राखिएको छ ।


सम्बन्धित समाचार