५ साउन,वीरगञ्ज । डिभिजन वन कार्यालय लहान, सिरहाले जिल्लाका विभिन्न वन क्षेत्रमा भएको अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाएको छ। कार्यालयले वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउनुका साथै अवैध रूपमा खेती गरिएका जग्गा खाली गराएको जनाएको छ।
कार्यालय प्रमुख बेचन चौधरीका अनुसार गोलबजार नगरपालिकास्थित चोहर्वा ब्यारेक नजिकै वन क्षेत्र अतिक्रमण गरी बनाइएको संरचना हटाइएको छ। यस्तै बलान सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी खनजोत गरेर खेती गरिरहेको क्षेत्रसमेत खाली गराइएको उनले जानकारी दिए।
डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा वन संरक्षण, जैविक विविधता प्रवर्द्धन, सार्वजनिक स्थलको सौन्दर्यीकरण तथा वन पैदावार चोरी तस्करी नियन्त्रणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
कार्यालय प्रमुख चौधरीका अनुसार नवराजपुर गाउँपालिकास्थित सोनबर्षा विद्यालय परिसरमा १६ लाख रुपैयाँ लागतमा ‘हरित पार्क’ निर्माण गरिएको छ। पार्कमा घेराबार, राष्ट्रिय झण्डा राख्ने संरचना, पदमार्ग तथा विद्यार्थीका लागि खेलकुद क्षेत्र निर्माण गरिएको छ।
यसैगरी धनगढीमाई नगरपालिकाको तिनकोनीस्थित पोखरी २४ लाख रुपैयाँ लागतमा संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ। योजनाअन्तर्गत पोखरीमा घाट निर्माण गर्नुका साथै वरपरको क्षेत्र व्यवस्थित बनाइएको कार्यालयले जनाएको छ।
धनगढीमाई मन्दिर परिसरमा चार लाख रुपैयाँ लागतमा पार्क निर्माण गरिएको छ भने जिरोमाइलस्थित पार्क तीन लाख ६० हजार रुपैयाँ लागतमा मर्मत गरिएको छ। वन संरक्षणका लागि बलानमाई सामुदायिक वन, सुबेदार चौरी सामुदायिक वन तथा बलान खोला सन्यासी सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरिएको कार्यालयले जनाएको छ।
झ्वाई खोल्सी सामुदायिक वन र राजदेवी चुरे सामुदायिक वनमा सिमसार संरक्षणका कार्यक्रम सञ्चालन गरिएको छ। मुतनी खोला सामुदायिक वनलाई प्राङ्गारिक मल उत्पादनका लागि अनुदानसमेत उपलब्ध गराइएको कार्यालयले जनाएको छ।
वन पैदावारको अवैध कटानी तथा ओसारपसार नियन्त्रणका लागि नियमित गस्तीलाई निरन्तरता दिइएको डिभिजन वन कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ९० क्युफिट चिरान काठ र १३० क्युफिट गोलिया काठ बरामद गरिएको छ।
वन पैदावार चोरी तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको उनले जानकारी दिए। चुरे क्षेत्रबाट हुने ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि नियमित अनुगमन र गस्ती गरिएको कार्यालयले जनाएको छ।
वन संरक्षणसँगै सार्वजनिक स्थलको सौन्दर्यीकरण, सिमसार संरक्षण, वृक्षरोपण तथा सामुदायिक वन सुदृढीकरणमार्फत वातावरण संरक्षण र स्थानीय समुदायको सहभागिता बढाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको सूचना अधिकारी चौधरीले बताए।




















