५ साउन,वीरगञ्ज । पर्सा जिल्लामा साक्षरता अभियानले तीव्रता पाएको छ। जिल्लाका एक महानगरपालिकासहित थप तीन स्थानीय तह साक्षर घोषणा गर्ने अन्तिम तयारीमा पुगेका छन्।
सखुवाप्रसौनी गाउँपालिका, पकाहामैनपुर गाउँपालिका र बहुदरमाई नगरपालिकाले साक्षरतासम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन तथा मूल्याङ्कनको काम अन्तिम चरणमा पुर्याएका छन्। यसअघि जिल्लाका १४ स्थानीय तहमध्ये ठोरी गाउँपालिका सबैभन्दा पहिले साक्षर घोषणा भएको थियो भने जीराभवानी गाउँपालिकाले पनि साक्षर पालिकाको मान्यता पाइसकेको छ।
अब वीरगञ्ज महानगरपालिकासहित थप तीन स्थानीय तहले आवश्यक प्रक्रिया पूरा गरी साक्षर घोषणा गर्ने तयारी गरेका हुन्।
पकाहामैनपुर गाउँपालिकाले पाँचवटै वडामा गणक परिचालन गरी साक्षरतासम्बन्धी तथ्याङ्क सङ्कलन सम्पन्न गरेको जनाएको छ। सखुवाप्रसौनी गाउँपालिकामा छ वडामध्ये पाँच वडाको गणना सम्पन्न भएको छ भने एउटा वडाको तथ्याङ्क सङ्कलन बाँकी रहेको छ।
त्यसैगरी बहुदरमाई नगरपालिकाले १० वडामध्ये पाँच वडामा तथ्याङ्क सङ्कलन पूरा गरिसकेको छ भने बाँकी पाँच वडामा गणना कार्य जारी रहेको जनाएको छ। सबै वडाको तथ्याङ्क सङ्कलन र प्रमाणीकरण सम्पन्न भएपछि औपचारिक रूपमा साक्षर घोषणा गरिने सम्बन्धित स्थानीय तहले जनाएका छन्।
साक्षर पालिका घोषणा गर्न स्थानीय नागरिकको अवस्था १२ वटा सूचकका आधारमा मूल्याङ्कन गरिन्छ। ती सूचकमा १ देखि १०० सम्म गणना गर्न सक्ने, अक्षर तथा अंक पहिचान गर्न सक्ने, सामान्य हिसाबकिताब गर्न सक्ने, बिल वा भौचर तयार गर्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, मोबाइल, ल्यापटप वा क्यालकुलेटर प्रयोग गर्न सक्ने, चेकबुक भर्न सक्ने, ट्राफिक चिह्न बुझ्न सक्ने, परिवारका सदस्यको नाम र उमेर लेख्न सक्ने, सूचना तथा पोस्टर पढेर बुझ्न सक्ने र सामुदायिक कार्यक्रममा आफ्ना विचार व्यक्त गर्न सक्ने क्षमता समावेश छन्।
यी १२ सूचकमध्ये कम्तीमा छ वटा सूचक पूरा गर्ने व्यक्तिलाई साक्षर मान्ने व्यवस्था रहेको छ।
यसैबीच, वीरगञ्ज महानगरपालिकाका पाँच वटा वडा साक्षर घोषणा भइसकेका छन् भने बाँकी वडामा आवश्यक प्रक्रिया अघि बढिरहेको महानगरपालिकाले जनाएको छ।
पर्सामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह रहेका छन्। जिल्लाभर साक्षरता अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएकाले आगामी दिनमा थप स्थानीय तह साक्षर घोषणा हुने अपेक्षा गरिएको छ।
स्थानीय तह, शिक्षा शाखा तथा सम्बन्धित निकायले तथ्याङ्क सङ्कलन, प्रमाणीकरण र सूचक मूल्याङ्कनलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन्। अभियान सफल भएपछि नागरिकको आधारभूत साक्षरता, सीप र सामाजिक सहभागिता थप सुदृढ हुने विश्वास गरिएको छ।




















