५ साउन, काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश सरकार गठन र सञ्चालनका लागि नेकपा एमालेसँग सहकार्यको वातावरण मिलाउन प्रदेशका नेताहरूलाई निर्देशन दिएका छन् ।
श्रीलंका भ्रमणबाट फर्किएपछि राजनीतिक भेटघाट र समीकरणको कसरतमा जुटेका दाहालले काठमाडौं आएका प्रदेश तहका मुख्य नेताहरूसँगको छलफलमा यस्तो निचोड सुनाएका हुन् ।
नेकपा लुम्बिनी प्रदेशका संयोजक सुदर्शन बरालका अनुसार प्रदेशलाई मध्यावधि चुनावमा जानबाट रोक्न र राजनीतिक निकास दिन एमालेसँग गठबन्धन गरेर जानुपर्ने बाध्यकारी अवस्था आएको छ ।
कांग्रेस तीन दलको सरकारमा बस्न अनिच्छुक देखिएपछि कम्युनिष्ट आन्दोलनलाई जोगाउन र बहुमतको स्थिर सरकार दिन एमालेसँग सहकार्य गर्ने लगभग निश्चित भएको छ । यद्यपि, कुन प्रदेशमा कसको नेतृत्व हुने भन्ने विषयमा भने अझै अन्तिम टुंगो लाग्न बाँकी रहेको नेताहरूले बताएका छन् ।
सुदूरपश्चिम र कोशी लगायतका प्रदेशमा बजेटलाई लिएर एमाले र कांग्रेसबीच तिक्तता बढेसँगै पुरानो समीकरणमा खटपट आएको थियो ।
यसैबीच एमाले र नेकपाबीच नजिकिँदै गरेको संवादले केन्द्रीयदेखि प्रदेश तहसम्मको राजनीतिक समीकरण बदलिने संकेत देखाएको छ । सातै प्रदेशमा दलहरूको संख्यात्मक जोडघटाउ र शक्ति सन्तुलन हेर्दा सरकार फेरबदलको कसरत रोचक बन्दै गएको छ ।




















