५ साउन, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण असुलीमार्फत दुई ठूला सहकारीका १२५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ ।
समितिका अनुसार लालीगुराँस सहकारी संस्थाका ३५ जना र ‘तपाईँ हाम्रो’ सहकारीका ९० जना पीडित बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका हुन् ।
सरकारले समस्याग्रस्त घोषित सहकारीहरूको सम्पत्ति व्यवस्थापन तथा ऋण असुलीबाट उठेको रकमबाट पहिलो चरणमा थोरै बचत रकम भएका साना बचतकर्ताहरूलाई प्राथमिकता दिएर रकम फिर्ता गराएको जनाएको छ ।
समितिले रकमको आकार र आधारका हिसाबले वर्गीकरण गर्दै आगामी दिनमा पनि बचत फिर्ताको प्रक्रियालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । कानुनबमोजिम ऋण असुलीको काम तीव्र पारिएसँगै वर्षौंदेखि डुबेको रकम फिर्ता पाउन थालेपछि पीडित बचतकर्ताहरूमा केही राहत महसुस हुन थालेको छ ।




















