५ साउन,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–४ सुहपुरस्थित हुलाकी सडकखण्डबाट प्रहरीले २० किलो ६८७ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले मंगलबार चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको बीआर ०६ बीएच ५४९६ नम्बरको भारतीय कारलाई रोकी जाँच गरेको थियो।
प्रहरीले कानुनी प्रक्रियाअनुसार खानतलासी गर्दा कारको पछाडिको सिटमुनि प्लास्टिकमा लुकाइराखिएको अवस्थामा २० किलो ६८७ ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य, सीतामढी जिल्ला, ग्राम पञ्चायत ताल, डुम्रा–३३ निवासी ३३ वर्षीय रहमद अन्सारी रहेका छन्।
बरामद गाँजा, प्रयोग गरिएको कारसहित अन्सारीलाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।




















