५ साउन, काठमाडौं । सेयर बजारमा लगातार सुधार आउने क्रम जारी रहँदै छैटौँ कारोबार दिन पनि नेप्से परिसूचक उकालो लागेको छ ।
मंगलबार बजार परिसूचक नेप्से ७.२५ अङ्कले बढेर २,७२६ विन्दुमा पुगेको छ, जुन जेठ २८ गतेयताकै उच्च विन्दु हो । कारोबार रकममा पनि उत्साहजनक वृद्धि देखिएको छ । अघिल्लो दिन ५ अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज बढेर ६ अर्ब ६७ करोड रुपैयाँ नाघेको छ । दिनभरको कारोबारमा १०३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १६२ वटाको घटेको र १२ वटाको स्थिर रहेको छ ।
समूहगत सूचकमा मिश्रित नतिजा देखिए पनि व्यापार, अन्य र उत्पादन तथा प्रशोधन समूहमा पहेंलो चमक देखिएको छ । हालै सूचीकृत नयाँ कम्पनी र केही जलविद्युत् तथा उत्पादनमूलक कम्पनीका लगानीकर्ताले राम्रो कमाउँदा बजार थप चलायमान बनेको छ ।




















