Logo

५ साउन, काठमाडौं । सरकारले विद्यालय शिक्षाको मूल्यांकन प्रणालीमा एकरुपता ल्याउन र विद्यार्थीमा देखिने मनोवैज्ञानिक त्रास हटाउने उद्देश्यसहित लेटरग्रेडिङसम्बन्धी नयाँ निर्देशिका ल्याएको छ ।

अहिलेसम्म कक्षा ९ सम्म विद्यालयहरूले आफैँले निर्धारण गरेको तरिकाले ग्रेडिङ गर्दै आएका थिए भने कक्षा १० र १२ मा मात्र राष्ट्रिय परीक्षा बोर्डको प्रणाली लागू हुँदै आएको थियो । नयाँ निर्देशिकापछि अब विद्यालय शिक्षाका सबै तहमा एकै प्रकारको ग्रेडिङ प्रणाली कार्यान्वयनमा आउने भएको छ ।

शिक्षा मन्त्रालयद्वारा जारी नयाँ व्यवस्थाअनुसार अब कक्षामा अनिवार्य रूपमा ७५ प्रतिशत हाजिरी भएका विद्यार्थी मात्र वार्षिक परीक्षामा सहभागी हुन पाउनेछन् ।

साथै, साना कक्षाका विद्यार्थीमाथिको परीक्षाको अनावश्यक दबाब कम गर्न कक्षा ५ सम्म परीक्षाका माध्यमबाट मात्र मूल्यांकन गर्ने परम्परागत व्यवस्था हटाइएको छ । विद्यार्थीको सिकाइ मूल्यांकनलाई ३५ अंकदेखि माथि सय अंकसम्मका आधारमा आठवटा फरक वर्गमा विभाजन गरिएको मन्त्रालयले जनाएको छ ।

यसका साथै नयाँ निर्देशिकाले विद्यालय तहमा पठनपाठनको समय र ढाँचामा पनि लचिलोपन अपनाएको छ । अब विद्यालयमा ६० मिनेटको एक घण्टी हुने व्यवस्था गरिएको छ भने वार्षिक कुल कार्यघण्टा नघट्ने गरी विद्यालयहरूले समय व्यवस्थापन गर्न सक्नेछन् । यसबाहेक अतिरिक्त समयमा गरिने सिकाइ क्रियाकलापहरूलाई पनि अब वार्षिक कार्यघण्टामै गणना गर्न पाइने सुविधा दिइएको छ ।


सम्बन्धित समाचार