५ साउन,काठमाडौं । तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मंगलबार यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ६४६५ नम्बरको बस अनियन्त्रित भई कलेस्ती खोलाको पुलमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा बस चालक शम्सेर नेपाली चालक सिटमै च्यापिएर गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएको प्रहरी टोलीले उद्धार गरी उनलाई उपचारका लागि रत्नहरि अस्पताल पठाएको जनाएको छ।
प्रहरीका अनुसार बसमा २५ जना यात्रु सवार रहेका थिए। दुर्घटनामा व्यास–४ की ६० वर्षीया श्रीमाया परियार, लमजुङको मध्यनेपाल–१ की ३५ वर्षीया शान्ता गौतम, मध्यनेपाल–४ की ३२ वर्षीया निरा गौतम, २९ वर्षीया सुस्मिता शाही, व्यास–११ की ६० वर्षीया चन्द्रमाया गुरुङ, व्यास–२ की ४७ वर्षीया अनिता गुरुङ र ४९ वर्षीया बिन्दु गुरुङ घाइते भएका छन्।
त्यस्तै, कास्कीको रुपा गाउँपालिका–१ की ५० वर्षीया स्वस्तिकला खनाल, व्यास–६ की २७ वर्षीया सुजिता पौडेल, व्यास–१ की आठ वर्षीया सान्भि गिरी, ४० वर्षीया दिपा खान, ५१ वर्षीया सिता नेपाली, ३५ वर्षीया हिरा मल्ल र ४४ वर्षीया नुनिमाया थापा पनि घाइते भएका छन्।
घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।




















