Logo

 ५ साउन,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको आरोपमा विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ।

मंगलबार दायर गरिएको मुद्दामा अधिकारीले पदको दुरुपयोग गर्दै १ करोड ७१ लाख रुपैयाँ घुस लिएको तथा उक्त रकमलाई जग्गा खरिदमार्फत शुद्धीकरण गरेको आरोप लगाइएको छ।

अख्तियारका अनुसार अधिकारीले महानिर्देशकका रूपमा कार्यरत रहँदा प्राधिकरणअन्तर्गत सञ्चालित विभिन्न ठेक्कापट्टाको स्वीकृति, रेखदेख तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिएबापत गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकालसँग १ करोड ७१ लाख रुपैयाँ घुस लिएका थिए।

आयोगको आरोपपत्रमा घुसबाट प्राप्त रकम लुकाउने उद्देश्यले अधिकारीले श्रीमतीको नाममा ललितपुर महानगरपालिका–१५ मा १३ आना जग्गा खरिद गरेको उल्लेख छ। जग्गा खरिद गर्दा सरकारी लिखतमा ९१ लाख रुपैयाँ मात्र मूल्य देखाई वास्तविक कारोबारको रकम लुकाइएको र बाँकी १ करोड ७१ लाख रुपैयाँ श्रीमतीको बैंक खातामार्फत कारोबार देखाई सम्पत्ति शुद्धीकरण गरिएको दाबी गरिएको छ।

अख्तियारले अधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत छुट्टाछुट्टै कसुरमा मुद्दा दायर गर्दै १ करोड ७१ लाख रुपैयाँ बिगो, सोही बराबरको जरिवाना, कैद सजाय तथा घुसको रकमबाट खरिद गरिएको १३ आना जग्गा र त्यसबाट आर्जित सम्पत्ति जफत गर्न माग गरेको छ।

यसै मुद्दामा गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकाललाई पनि प्रतिवादी बनाइएको छ। उनलाई घुस दिएको तथा सम्पत्ति शुद्धीकरणमा मतियारको भूमिका खेलेको आरोपमा अधिकारीसरह बिगो, जरिवाना र कैद सजायको माग गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार राष्ट्रसेवक कर्मचारीका रूपमा गम्भीर प्रकृतिको भ्रष्टाचार गरेको आरोपमा अधिकारीविरुद्ध कानुनबमोजिम थप सजायको समेत माग गरिएको छ।


सम्बन्धित समाचार