६ साउन, काठमाडौँ । सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङलाई केन्द्रबिन्दु बनाएर आज बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:४० बजे ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।
भूकम्पको केन्द्रबिन्दु बझाङको कोटदेवल आसपास रहेको केन्द्रले जनाएको छ । बिहानको समयमा गएको भूकम्पको धक्का बझाङका साथै सुदूरपश्चिमका छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।
भूकम्पका कारण सर्वसाधारण केही बेर आतङ्कित बने पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको स्थानीय प्रशासनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सम्भावित क्षतिको यकिन विवरण सङ्कलन गर्न मातहतका सुरक्षा निकाय तथा प्रहरी चौकीहरूलाई सतर्क अवस्थामा राखिएको छ। पश्चिम नेपालमा पछिल्लो समय साना तथा मझौला भूकम्पका धक्काहरू लगातार गइरहेका छन् ।




















