६ साउन,वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत संजीव साह लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै जनप्रतिनिधिहरूले गाउँसभा हुन नसकेको र सेवा प्रवाह प्रभावित भएको बताएका छन्।
जनप्रतिनिधिहरूका अनुसार आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा बजेट पारित गर्नुपर्ने गाउँसभा हालसम्म हुन सकेको छैन। समयमै गाउँसभा सम्पन्न नहुँदा विकास निर्माणका योजना प्रभावित हुनुका साथै बजेट कटौती हुने जोखिमसमेत बढेको उनीहरूको भनाइ छ। गाउँपालिकाबाट प्रवाह हुने दैनिक प्रशासनिक सेवासमेत प्रभावित भएको जनप्रतिनिधिहरूले बताएका छन्।
उनीहरूका अनुसार प्रमुख प्रशासकीय अधिकृत साह जेठ ७ गते कार्यालयमा हाजिर भए पनि त्यसयता नियमित रूपमा कार्यालयमा उपस्थित भएका छैनन्। असार ११ गते कार्यालयमा उपस्थित भएर बैंक खाता सञ्चालनलगायतका केही प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनले हाजिरी पुस्तिकामा असार १५ देखि १९ गतेसम्म घर बिदा उल्लेख गरेका थिए। त्यसयता भने कार्यालयमा अनुपस्थित रहेको जनप्रतिनिधिहरूको दाबी छ।
स्थानीय तह सञ्चालनसम्बन्धी व्यवस्थाअनुसार नीति तथा कार्यक्रम प्रस्तुत हुने गाउँसभामा प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति आवश्यक पर्ने भएकाले उनको अनुपस्थितिमा गाउँसभा आयोजना हुन नसकेको जनप्रतिनिधिहरूले बताएका छन्।
गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताले प्रमुख प्रशासकीय अधिकृत नियमित रूपमा कार्यालयमा नआउँदा गाउँसभा गर्न नसकिएको र नागरिकले पाउने दैनिक सेवा पनि प्रभावित भएको बताए।
उनका अनुसार प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा उपस्थित गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय पर्सामा चार पटकसम्म पत्राचार गरिएको छ। साथै, फोनमार्फत पटक–पटक सम्पर्क र ताकेता गरिए पनि हालसम्म कुनै सुनुवाइ नभएको उनले बताए।
“गाउँसभा गर्न हामी सबै जनप्रतिनिधि तयारी अवस्थामा छौं। तर प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण प्रक्रिया अघि बढ्न सकेको छैन,” अध्यक्ष गुप्ताले भने।
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत संजीव साहसँग प्रतिक्रिया लिन फोन सम्पर्क गर्ने प्रयास गरिएको भए पनि उनको मोबाइल फोन बन्द रहेकाले प्रतिक्रिया प्राप्त हुन सकेन।




















