६ साउन,काठमाडौं । नेकपा एमालेले संविधान संशोधनका लागि प्राप्त सुझावका आधारमा प्रस्ताव तयार गर्ने भएको छ।
संविधान संशोधन सुझाव कार्यदलमार्फत काम गरिरहेको एमालेले संविधान पुनरावलोकन तथा संशोधनसम्बन्धी प्रस्ताव तयार गर्न छलफललाई तीव्रता दिएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संविधान पुनरावलोकनसम्बन्धी प्रस्ताव तयार गर्ने तथा सुझाव संकलनका लागि गठित उपसमितिको बैठकले प्राप्त सुझावलाई आधार बनाएर प्रस्ताव तयार गर्ने निर्णय गरेको हो।
उपसमितिका संयोजक अग्निप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकमा संविधान संशोधनका लागि आएका सुझावलाई विषयगत रूपमा वर्गीकरण गरी तथ्य, तर्क र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने विषयमा छलफल भएको संविधान संशोधन सुझाव कार्यदलका सदस्य सचिव महेश बर्तौलाले जानकारी दिए।
बैठकमा संविधान कार्यान्वयनको हालसम्मको अनुभव, उपलब्धि तथा देखिएका व्यावहारिक चुनौतीहरूको समीक्षा गर्ने विषयमा पनि छलफल भएको उनले बताए।
बर्तौलाका अनुसार संविधान संशोधनका लागि आवश्यक देखिएका विषय पहिचान गरी राजनीतिक, संवैधानिक, प्रशासनिक तथा कानुनी दृष्टिकोणबाट अध्ययन गरिनेछ।
त्यसैगरी राजनीतिक दल, संवैधानिक निकाय, विषयगत विज्ञ, कानुन व्यवसायी, प्रशासनिक क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारवालाबाट सुझाव संकलन गर्ने विधि र प्रक्रियाबारे पनि छलफल भएको उनले बताए।
बैठकमा उपसमिति संयोजक खरेल, सदस्य सचिव बर्तौलासहित रमेश बडाल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे, अमर थापा तथा विज्ञका रूपमा पूर्वकानुनमन्त्री माधवप्रसाद पौडेल सहभागी थिए।
एमालेले संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई थप सुदृढ बनाउन संविधान संशोधनसम्बन्धी सुझाव संकलन गरिरहेको जनाएको छ।




















